धनगढी , ३० फागुन / एक जिल्ला एक उद्योग स्थापना कार्यक्रमको बजेट ५ लाख छुुट्याएको छ । सुदूरपश्चिमा जबकी ९ जिल्ला छन्, यो कार्यक्रमको लागि एक जिल्लाको भागमा उद्योग सञ्चालनको लागि एक लाखमा पनि न पग्ने भएको छ ।
यो सुदूरपश्चिम प्रदेश सरकारको चालु आर्थिक वर्षका लागि प्रदेशका ९ वटै जिल्लामा सञ्चालन गर्ने कार्यक्रम हो । उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय अन्तरगत पर्ने उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण कार्यालयले यो कार्यक्रम कार्यान्वयन गरिरहेको छ ।
१४ फागुनमा २१ दिने सूचना जारी गर्दै एउटा जिल्लामा एउटा उद्योग स्थापना गर्न उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण कार्यालयले सूचना जारी गरेको थियो । अहिले सबै जिल्लाबाट आवेदन संकलन भइरहेको छ । तर सरकारले न्यून बजेट विनियोजन गरेका कारण कार्यान्वयनमा कठिनाइ सिर्जना भएको छ ।
‘हामीले एक जिल्ला एक उद्योग कार्यक्रम अन्तरगत प्रदेशका एक÷एक जिल्लामा उद्योग स्थापना तथा सामाग्री खरिदका लागि अनुदान दिने हो,’ उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख खेमप्रसाद चौधरीले भने, ‘तर बजेट थोरै हुँदा समस्या भइरहेको छ । पाँच लाखलाई ९ भागमा बाड्नुपर्ने भयो । त्यसो गर्दा थोरै रकम हुन्छ ।’
यसअघि स्थापना भइसकेका उद्योगलाई सामान खरिदमा अनुदान दिइने कार्यालयले जनाएको छ । तर एक जिल्ला एक उद्योगको ठूलो नारा दिएर लागु गरिएको कार्यक्रममा थोरै बजेट विनियोजन गरिएपछि प्रदेश सरकारले जग हसाएको भन्दै आलोचना भइरहेको छ ।