धनगढी, २२ फागुन / माओवादी केन्द्रका मन्त्रीहरु हटाएका सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले सबै दलसँग मिलेर अघि बढ्न आफू तयार रहेको बताएका छन् ।
माओवादीबाट मन्त्री बनेका रमेश धामी, झपटबहादुर साउँद र राज्यमन्त्री गीतादेवी माललाई बर्खास्त गरेपछि मंगलबार नै आयोजित पत्रकार सम्मेलनमा शाहले पुरानै गठबन्धन कायम राख्न आफू सबै विकल्पमा खुला रहेको बताए ।
‘राष्ट्रिय राजनीतिका कारण यो प्रभाव परेपनि माओवादी केन्द्रसँग पनि हामी संवादमै छौं । साविकको गठबन्धनका सबै दल संवादमै छन् । पद मात्र ठूलो कुरा होइन’, शाहले भने, ‘गठबन्धनलाई जोगाएर अन्तिमसम्म लैजानुपर्छ भन्ने चाहना छ ।’
सबै दललाई मिलाएर अघि बढ्न जस्तोसुकै सहमति गर्न कांग्रेस तयार रहेको बताएका उनले मुख्यमन्त्री छाड्न तयार हुनुहुन्छ भन्ने प्रश्नमा भने, ‘सबै कुरामा खुला छौँ ।’
एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीले छुट्टै गठबन्धन बनाए पनि कांग्रेस नेतृत्वको सरकारमा सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टी र एकीकृत समाजवादी छन् । यी तीन दलसँग प्रदेशसभाको बहुमत छ ।
प्रदेशसभामा कांग्रेस सबैभन्दा ठूलो पार्टी भएकाले सबै दललाई मिलाएर लैजाने दायित्व आफ्नो भएको शाहको भनाइ छ । माओवादीका मन्त्रीको जिम्मेवारी खोसिएकै कारण ऊसँग संवाद बन्द भएको अर्थ नलाग्ने शाहले बताए ।
शाहले निर्णायक भूमिकामा रहेको नागरिक उन्मुक्ति पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीको समर्थन कायमै राखेर आफू नेतृत्वको सरकार जोगाउन सक्रियता देखाएका छन् ।