धनगढी ,२० फागुन / कैलालीको चुरे गाउँपालिले आयोजना गर्ने पालिका स्तरीय भलिबल प्रतियोगिताको पुरस्कार राशिमा ठुलो विभेद भएको छ । चुरे गाउँपालिको निर्णयानुसार मिति २०८० फागुन २२ देखि २४ गते सम्म गाउँपालिकाको प्राङ्गणमा सञ्चालन हुने चौथो अध्यक्ष कप खुला पुरुष तथा महिला भलिबल प्रतियोगिताको पुरस्कार राशिमा ठुलो विभेद गरिएको छ ।
उक्त प्रतियोगितामा पुरस्कार राशिमा पुरुष भलिबल तर्फ प्रथम हुनेलाई ७७ हजार ७ सय ७७ तोकीएको छ भने महिला भलिबल तर्फ प्रथम हुनेलाई ४४ हजार ४ सय ४४ तोकीइको छ । उक्त पुरस्कार राशिमा ३३ हजार बढीको फरक देखिएको छ । संबैधानिक ब्यवस्थाको मर्म विपरित चुरे गाउँपालिकाको यो सूचना विभेदकारी तथा अन्यायपुर्ण भएको चुरे १का टेकेन्द्र बमले बताए ।
भलिबल खेलको पुरस्कार राशी यथासिघ्र संशोधन नगरि आयोजना गरेमा कानुनी उपचार खोज्ने उनले बताए । कुनै पनि ठाँउमा खेलकुद पुरस्कार राशी समानता नभएको चुरे गाउँपालिकाका अध्यक्ष च्रक बोकटीले बताए । उनले भने “पालिकामा पुरुषहरुका धेरै समूह हुन्छन् , महिलाका थाेरै समूह हुन्छन् , यस अनुसार महिलाले भन्दा पुरुषले जित्नकाे लागि धेरै मिहेनत गर्नु पर्नेहुन्छ , यसमा पनि पालिकाले पुरुष भलिबल खेलाएकाे ७/८ बर्ष भईसक्याे र महिला भलिबल खेलाएकाे १ बर्ष भयाे । अनि कसरी दिने समान पुरस्कार ?”
तर नेपालको संविधान२०७२को भाग ३को धारा १८ मा समानताको हक अनुसार न. (४)मा समान कामका लागि लैंगिक आधारमा पारिश्रमिक तथा सामाजिक सुरक्षामा कुनै भेदभाव गरिने छैन। लिङ्गको आधारमा कसैमाथि भेदभाव गरिनेछैन भन्ने व्यवस्था गरिएको छ ।