धनगढी, २० फागुन / कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा जुगाड गरेर पानीको आपूर्ति हुँदै आएको छ । प्रदेश सरकार मातहतको प्रादेशिक अस्पतालमा पानी आपूर्तिका लागि गाडिएको बोरिङमा पानी सुकेपछि समस्या भएको छ।
अस्पतालमा पानी आपूर्तिका लागि सानो बोरिङ छ । गर्मीको समय सुरु भएकाले अस्पतालमा पानीको हाहाकार हुने देखिएको छ । पानीको हाहाकार भएपछि बिरामी, कुरुवा र त्यहाँ कार्यरत कर्मचारी तथा स्वास्थ्यकर्मीलाई समस्या हुने देखिएको छ ।
२०६८ सालमा ६५ लाखमा निर्माण गरिएको खानेपानी आयोजनामा अहिले पानी छैन । ठूला आयोजनाको पानीको मुहान सुकेपछि समस्या भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर शाही (निर्मल)ले बताए । उनले भने, ‘पानीको बोरिङ थियो , पुरानो बोरिङको पानी सुकेको छ , २ इन्चको मात्र सानो पानी छ, खानेपानीका लागि नयाँ योजनाको बोलपत्र हुने प्रक्रियामा रहेको छ ।’
सेती प्रादेशिक अस्पतालमा खानेपानी तथा शौचालयका लागि समेत पानीको समस्या हुने देखिएको छ । गर्मीको समयमा पानीको मुहान बन्द हुने भएकाले अस्पताल व्यवस्थापन समिति पानीको सहज आपूर्तिका लागि आयोजनाको ठेक्काको प्रक्रिया सुरु गरिएको छ । नेपाल खानेपानी संस्थान धनगढी शाखाको पानी सडक निर्माणका कारण आपूर्तिमा समस्या हुने गरेको छ ।
सेती अञ्चल अस्पतालले २०६८ सालमा अस्पताल परिसरभित्रै ट्युबेल गाडेर समरसेल पम्प जडान गरी एक लाख लिटरको ओभरहेड ट्याङ्की निर्माण गरिएको थियो । तर, त्यो सफल भएन। ट्युबेल सुकेपछि अस्पतालमा खानेपानीले दिएको पानी पनि अस्पताललाई अपुग हुने गरेको छ ।
२ सय ५० शय्यामा सञ्चालनमा रहेको अस्पतालमा पानी अभाव हुने गरेको छ । सुदूरपश्चिम प्रदेशका झन्डै २८ लाख जनताको स्वास्थ्यसँग सेती अस्पताल जोडिएको छ । सेतीमा दैनिक एक हजार पाँच सय बिरामीले उपचार सेवा लिने गरेका छन् । तर, खानेपानी र सरसफाइका लागि अस्पतालमा पानीको अभाव हुने गरेको छ ।