कञ्चनपुर, १४ फागुन / कञ्चनपुरको महेन्द्रनगरमा फागुन २१ गतेदेखि ‘सुदूरपश्चिम प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव’ लाग्ने भएको छ । ‘कृषि, उत्पादन र स्वरोजगार आर्थिक समृद्धिको आधार’ भन्ने मूल नाराका साथ महेन्द्रनगरको खुल्ला मंचमा उद्योग वाणिज्य संघ कञ्चनपुरको आयोजनामा १५ औँ औद्योगिक व्यापार मेला लाग्ने भएको हो ।
सोमबार उद्योग वाणिज्य संघले आयोजना गरेको पत्रकार सम्मेलनमा महोत्सवको तयारी तीव्र रूपमा अघि बढिरहेको बाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीले बताए ।
अध्यक्ष जोशीका अनुसार बाणिज्य संघले स्थानीय स्तरमा उत्पादित कृषि, खाद्य सहितका बस्तु तथा सेवाको प्रचारप्रसार, प्रवर्द्धन र बजारीकरणका लागि मेला सञ्चालन गर्न लागिएको छ । महोत्सवको उद्घाटन पुर्व मन्त्री तथा कञ्चनपुर –३ का सासद रमेश लेखकले गर्ने छन् । महोत्सव संचालनका लागी अध्यक्ष जोशीको संयोजकत्वमा १ सय ५१ सदस्यीय मूल आयोजक समिति र विभिन्न १६ उपसमिति समेत गठन गरिएका छन् ।
२१ देखि ३० गतेसम्म सञ्चालन हुने महोत्सवमा तीन सय स्टलमा लघु उद्यम, अटो, कृषि, गार्मेन्टका उत्पादन, वैकल्पिक ऊर्जा, पर्यटन प्रवर्द्धन, गुणस्तरीय दैनिक उपभोग्य सामग्री, कृषि औजार, सूचना प्रविधि, विद्युतीय सामग्री, शिक्षा, स्वास्थ्य क्षेत्रका सेवाहरू प्रदर्शन गरिने जनाइएको छ ।
महोत्सवमा मनोरञ्जनका लागी राष्ट्रिय तथा स्थानीय कलाकारहरूबाट सांस्कृतिक प्रस्तुति रहने छ । महोत्सव अवलोकनको लागी बिद्यार्थीलाई ५० र अन्यलाइ १ सय रुपैयाँ टिकट तोकिएको छ ।