काठमाडौँ १० फागुन/नेपाली कांग्रेसको महासमिति बैठक बिहीबार सम्पन्न भएको छ । बैठकबाट विभिन्न प्रस्तावहरू केन्द्रीय समिति बैठकले अन्तिम रुप दिनेगरी सर्वसम्मतिले पारित भएका छन् । समूहगत छलफलबाट आएका सुझावलाई समेट्दै ती प्रस्तावहरू पारित भएका हुन् ।
जसअनुसार उपसभापति पूर्णबहादुर खड्काले पेस गरेको नीति प्रस्ताव र महामन्त्री गगन थापाले पेस गरेको सांगठनिक प्रस्ताव र महामन्त्री विश्वप्रकाश शर्माले पेस गरेको समसामयिक राजनीतिक प्रस्ताव संशोधनसहित पारित भएका छन् । त्यस्तै लेखा समिति संयोजक श्याम घिमिरेले पेस गरेको लेखा परीक्षण प्रतिवेदन र अर्थमन्त्री समेत रहेका डा प्रकाशशरण महतले पेस गरेको अर्थसम्बन्धी प्रतिवेदन पनि महासमितिले ग्रहण गरेको छ ।
ललितपुरको गोदावरीमा भएको बैठकमा कांग्रेस महामन्त्री गगन थापाले विभिन्न प्रस्तावहरू पारित भएसँगै महासमिति बैठक सकिएको जानकारी गराए । महासमिति बैठक फागुन सात गतेबाट सुरु भएको थियो ।
‘उपसभापति पूर्णबहादुर खड्काले पेस गरेको नीति प्रस्ताव, महामन्त्री गगन कुमार थापाले प्रस्तुत गरेको सांगठानिक प्रस्ताव र अर्का महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तुत गरेको समसामयिक राजनीतिक प्रस्तावमा पार्टीको नीति, सांगठानिक योजनामा स्पष्ट दृष्टिकोण निर्माण भएको छ’, बैठकको निष्कर्ष सुनाउँदै महामन्त्री थापाले भने, ‘बन्द सत्रमा प्रस्तुत प्रस्तावमा सहभागी सदस्यहरूबाट अत्यन्तै महत्त्वपूर्ण सुझावहरू प्राप्त भएका छन् । प्राप्त सुझावहरूलाई केन्द्रीय कार्यसमितिले पारित गर्नेगरी महासमितिको बैठक सकिएको छ ।’
महामन्त्री गगन थापाले कांग्रेससहितको सत्ता गठबन्धनलाई निरन्तरता दिने समेत बैठकले निर्णय गरेको जानकारी दिए । ‘वर्तमान सरकारमार्फत भ्रष्टाचार, विसंगति र विकृतिका विरुद्ध वैधानिक रूपले सुशासन र राष्ट्रिय सदाचारको पद्धति सुरुवात गर्न सम्पूर्ण रूपले दृढसंकल्पित रहने अठोट गर्दै,अर्थतन्त्रमा देखिएका चुनौतीलाई समाधान गर्ने जिम्मेवारी बोध गर्दै, मुलुकमा विद्यमान सवैखाले विभेद र हिंशाविरुद्ध अभियान सञ्चालन गर्ने प्रतिबद्धता गरेको छ’महामन्त्री थापाको भनाइ छ ।
त्यस्तै बैठकले तीनै तहका सरकार सञ्चालनमा देखिएका समस्या समाधानका लागि नेतृत्वदायी भूमिकाप्रति सचेत रहँदै, किसान, सहकारी बचतकर्ता, लघुवित्त पीडितको पीडालाई समाधान गरी न्याय दिन सरकारको गम्भीर ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।
नेपाली कांग्रेस, महासमितिको बैठक गोदावरी, ललितपुरको फागुन १० गतेको निष्कर्ष यस्तो छ
नेपाली कांग्रेस, महासमितिको बैठक
गोदावरी, ललितपुर
मितिः २०८० फागुन १०
निष्कर्षसम्बन्धी प्रेस विज्ञप्ती
१. नेपाली राजनीतिको महत्वपूर्ण ऐतिहासिक दिन फागुन ७ अर्थात प्रजातन्त्र दिवसको अवसर पारेर २०८० फागुन ७ गते ललितपुरको गोदावरीमा पार्टी सभापती श्री शेरबहादुर देउवाले समुद्घाटन गरी १० गते सम्पन्न नेपाली कांग्रेसको महासमिति बैठकले,
२. नेपालको राष्ट्रिय स्वाधिनता र नागरिक स्वतन्त्रताका लागि पटक–पटकका क्रान्ति, संघर्ष र आन्दोलनमा सहादत प्राप्त गर्ने वीर शहिदहरुप्रति हार्दिक श्रद्धा सुमन अर्पण एवं सम्पूर्ण अग्रज नेताहरु तथा देश, लोकतन्त्र र कांग्रेसकालागि जीवन अर्पीत गर्ने सवै पार्टी सदस्य प्रति उच्च सम्मान प्रकट गर्दै,
३. नेपाली जनताले गरेको पटक पटकको क्रान्ति, संर्घष र आन्दोलनवाट प्राप्त उपलव्धी एवं हरुको रक्षा गर्दै संस्थागत विकास एवं संविधानले निर्दिष्ठ गरेका विषयलाई आत्मसाथ गरि,
४. नेपालको संविधानको रक्षा, संघीय समावेसी लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र संविधानको सार्थक कार्यान्वयन आजको राष्ट्रिय दायित्व भएको तथ्य हृदयङ्गमसाथ नागरिकको अवस्था रुपान्तरण गर्ने प्रण गर्दै
५ शान्ति प्रक्रियाका वाँकी काम, संक्रमणकालिन न्यायका विषय चाँडै टुङ्याउँने प्रतिवद्धता जाहेर गर्दै,
६. नेपाली कांग्रेसको महत्वपूर्ण उपस्थिीति सहित निर्माण भएको गठवन्धनलाई निरन्तरता दिई वर्तमान सरकार मार्फत भ्रष्ट्राचार, वेथिती र विसंगतिका विरुद्ध वैधानिकरुपमै अभियान संचालन गरि सुशासन र राष्ट्रिय सदाचार पद्दती स्थापित गर्न सम्पूर्ण रुपले कृतसंकल्पित रहने अठोट गर्दै, अर्थतन्त्रमा देखिएका विविध समस्या र चुनौतिहरुलाई समाधान गर्ने जिम्मेवारी वोध गर्दै,
७. मुलूकमा विद्यमान सवैखाले सामाजिक एवं जातीय क्षेत्रीय तथा लैङ्गिक विभेद र हिंसा विरुद्ध कार्यक्रमिक अभियान संचालन गर्ने प्रतिवद्धता गर्दै,
८. तीनै तहका सरकार संचालनमा देखिएका समस्याहरुलाई समाधानका लागि नेतृत्वदायी भूमिका प्रति सचेत रहदै,
९. किसान, सहकारी वचतकर्ता, मीटरव्याज र लघुबित्त पिडितहरुले भोग्दै आएका पिडालाई अभिलम्व समाधान गरि पिडितलाई न्याय दिलाउँन सरकारको गंभिर ध्यानाकर्षण गराउँदै,
१०. महासमितिको वैठकमा उपसभापति पूर्ण वहादुर खड्काले प्रस्तुत गर्नुभएको नीति प्रस्ताव, महामन्त्री गगन कुमार थापाले प्रस्तुत गर्नु भएका सांगठानिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तुत गर्नुभएको समसामयीक राजनीतिक प्रस्ताव नेपाली कांग्रेसको नीति, सांगठानिक कार्ययोजना र समसामयिक सन्दर्भमा स्पष्ट दृष्किोण निर्माण गरेको छ । बन्द सत्रमा प्रस्तुत प्रस्तावमा सहभागी सदस्यहरुवाट अत्यन्तै महत्वपूर्ण सुझावहरु प्राप्त भएकाछन् । प्राप्त सुझावहरुका आधारमा केन्द्रीय कार्यसमितले परिमार्जन सहित अन्तिम रुप दिने गरि तीनवटै प्रस्ताव महासमितिको यो बैठक सर्वसम्मतिले पारित गर्दछ । साथै नेपाली कांग्रेसका प्रवक्ता एवं अर्थ मन्त्री डा. प्रकाशसरण महतले प्रसतुत गर्नुभएको आर्थिक प्रतिवेदन सुझाव सहित ग्रहण गर्नुका साथै लेखा समितिका संयोजक श्याम प्रसाद घिमिरेले प्रस्तुत गर्नुभएको लेखा परिक्षण प्रतिवेदन वैठकले अनुमोदन गरेकोछ ।
११. राजनीतिक स्थायीत्व, रुपान्तरण नविनता । स्वतन्त्रता, न्याय र समानता ।। नेपाली कांग्रेसको नीतिगत प्रतिवद्धता ।।। उद्धघोषका साथ प्रारम्भ भई उत्साहकासाथ सम्पन्न यो बैठकबाट हासिल नविन उर्जालाई सम्पूर्ण एकताका साथ संगठन निर्माण र विस्तारमा जुट्दै नेपाल र नेपालीको उज्यालो भविष्यका लागि समर्पित हुने साझा प्रतिवद्धताका साथ यो ऐतिहासिक महासमितिको वैठक सम्पन्न भएको छ ।
यो एतिहासिक महासमितिको बैठकका सहभागि केन्द्रीय पदाधिकारी तथा सदस्यहरु, प्रदेश कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, जिल्ला सभापतिहरु, महासमिति सदस्यहरु, बैठक सफल पार्न विभिन्न उपसमितिमा रही अहोरात्र कार्य गर्नुहुने साथिहरु, भातृ तथा शुभेच्छुक संघ संस्थाका अध्यक्ष एवं प्रतिनिधिहरु, सुरक्षाकर्मीहरु, यातायात व्यवसायिहरु, नेपाली कांग्रेस ललितपुरका सभापति सहित विभिन्न तहमा रही काममा संलग्न स्थानीय साथीहरु, जनप्रतिनिधिहरु र विशेष भुमिकामा रही अविछिन्न समाचार संकलन तथा संप्रेषणमा योगदान गर्नुहुने सम्पूर्ण संचार माध्यम तथा संचारकर्मी साथिहरुमा नेपाली कांग्रेस केन्द्रीय कार्य समिति तथा प्रचार प्रसार उपसमितिको तर्फबाट हार्दिक धन्यवाद एवं आभार व्यक्त गर्दछ ।
(साथै महासमिति बैठक सम्बन्धी विस्तृत जानकारीका लागि २०८०, फागुन ११ गते दिउँसो ३ ः०० बजे नेपाली कांग्रेस केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, सानेपा ललितपुरमा आयोजना गरिने व्यहोरा समेत अवगत गराईन्छ । ) धन्यवाद ! जय नेपाल !!
मीन बहादुर विश्वकर्मा
संयोजक
प्रचार प्रसार उपसमिति