धनगढी ३ फागुन/कञ्चनपुर प्रहरीले विद्युतीय अपराध सम्बन्धी मुद्दा चलाएर समातेका २ पत्रकार रिहा भएका छन्। प्रहरी स्रोतका अनुसार बुधबार मध्यरातमा पत्रकारद्वय पुष्कर भट्ट र ऐश्वर्य कुँवरलाई मध्यरातमा थुनामुक्त गरिएको हो। पत्रकारद्वयका अधिवक्ता बिनोद भट्टले उनीहरुलाई रिहा गराएको पुष्टि गरे। यस अघि पक्राउ परेका ४ जना पनि रिहा भएका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक हर्षबहादुर चन्दका अनुसार आज समातिएका माओवादी केन्द्रका प्रदेश सदस्यसमेत रहेका भीमदत्त नगरपालिका–१८ का चन्द्रकान्त भट्ट, अर्का स्थानीय पुस्कर भट्ट, पूर्व प्रहरी हवल्दार भीमदत्त नगरपालिक–१८ का कर्णबहादुर चन्द र भीमदत्त नगरपालिका–१६ का दशरथ धानुक पनि छुटेका थिए।
केही दिन अगाडी कञ्चनपुर प्रहरीले एक महिला प्रहरी निरीक्षकविरुद्ध फेसबुकमा स्टाटस र कमेन्ट लेखेको भन्दै साइबर अपराधमा मुद्दा चलाएर उनीहरूलाई अनुसन्धानका लागि पक्राउ गरेको थियो। सो मुद्दामा आजसम्म ६ जना पक्राउ परेकोमा सबै छुटेका छन्।
तर उनीहरूमाथि अनुसन्धान भने जारी रहने बताइएको छ। विगतदेखी नै विवादित भएको आरोप लाग्ने कञ्चनपुरका एसपी कमल थापाको सरुवापछि त्यहाँ एसपी चक्रराज जोशी आउने भएका छन्। जोशी नआउँदासम्म थापाले नै कमाण्ड सम्हालिरहेका छन्।