धनगढी २ फागुन/धार्मीक तीर्थस्थलका रुपमा स्थापित हुन थालेको धनगढी उपमहानगरपालिका वडा नम्बर ४ को शिवपुरी धाममा श्रीमदभागवत सुरु भएको छ ।
शिवपुरी उत्तररामेश्वरम ज्योर्तिलिंग धाम ब्यवस्थापन समितिको आयोजनामा बुुधबारदेखि ११ औं श्रीमद भागवत महायज्ञ भएको हो । महायज्ञमा पुर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द प्रमुख अथिति रहेका छन ।ब्रम्हनिष्ठ सन्त शिरामणी लोकानन्द स्वामी पनि श्रीमदभागवत महायज्ञमा उपस्थित भएका छन । फागुन २ गतेदेखि ८ गतेसम्म ७ दिनको श्रीमद भागवत प्रवचन, मत्स्यपुराण पारायण हुनेछ ।
धाम ब्यवस्थापन समितिले हरेक वर्ष एउटै मिति अथवा फागुन २ गते देखि महायज्ञको आयोजना गर्दै आएको छ । धाम ब्यवस्थापन समितिका अध्यक्ष बल्देव प्रसाद भट्टको अध्यक्षतामा भएको महायज्ञ अघि सहिद गेट देखि ट्राफिक चौराहा, रातोपुल हुदै धामसम्म विभिन्न झाँकी सहितको कलशयात्राको आयोजना गरिएको थियो ।
महायज्ञमा श्रृगारिक महाआरती, हनुमान चालिसा हवनात्मक अनुुष्ठान, अष्ठचिरन्जीवि प्राण प्रतिष्ठा महायज्ञ हुनेछन । महायज्ञमा १०८ शिवलिंग स्थापना संकल्प पनि हुनेछ ।महायज्ञमा ब्रम्हनिष्ठ सन्त शिरामणी लोकानन्द स्वामीको प्रवचन, प्रखर पुराणबाचक पुराणोपासक आचार्य सत्यराज अवस्थीबाट संगीतमय प्रवचन, बैदिक कार्यहरु विवाह, ब्रतबन्ध, ८४ पुजा, गृहशान्ति, कालसर्पयोग निवारण जस्ता अनुुष्ठानहरु पनि हुने बताईएको छ ।
महायज्ञमा हरेक साँझ वाराणसीको गंगाघाट र पशुपतिनाथको गंगाघाटमा हुने संगीतमय आरती, पञ्चकुण्डमा हवन अनुुष्ठान, भगवान शंकरको रुद्राभीषेक हुनेछ । शिवपुरी धाम, लोकानन्द स्वामीको परिकल्पनाबाट २०७० साल देखि दाताहरुको दानबाट मात्र निर्माण भएको हो । धाममा करोडौंका संरचना दानदातब्यबाट निर्माण भएका छन । १०८ फिटको शिवलिंग धामको मुख्य आकर्षण हो ।