धनगढी, १ फागुन / डडेल्धुरा मेडिकल कलेजले मंगलबारदेखि पठनपाठन सुरु गरेको छ । सुदूरपश्चिम विश्वविद्यालयबाट बिएससी एमएलटी (ब्याचलर्स इन मेडिकल ल्याब टेक्नोलोजी) सञ्चालनको अनुमति पाएको मेडिकल कलेजले पठनपाठन सुरु गरेको हो । मेडिकल कलेजका डिन डा। हेमनाथ जोशीले १० जनाको कोटा पाएकोमा अहिलेसम्म ८ जना विद्यार्थी भर्ना भएको बताए ।
यसैबीच अध्ययनरत विद्यार्थीहरूलाई अभिमुखीकरण गरिएको छ । डडेलधुरा अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाले पढाइ सुरु गर्नुअघि विद्यार्थीलाई अभिमुखीकरण पनि गरिएको बताए । साथै कार्यक्रममा मेडिकल कलेजका अध्यापक र विद्यार्थीहरूलाई स्वागत पनि गरिएको छ । सरकारले डडेलधुरा अस्पताललाई मेडिकल कलेजको रूपमा सञ्चालन गर्ने घोषणा गरेपछि ५ वटा विषयको अध्यापन अनुमति मागिएको थियो ।
तर चिकित्सा शिक्षा आयोगले यस वर्ष भने बिएससी एमएलटी अध्ययनको अनुमति मात्रै दिएको थियो । एमबिबिएसको पढाइ सुरु गर्न भने डडेलधुरा अस्पताल कम्तीमा पनि तीन सय श्ययायामा स्तरोन्नति हुन आवश्यक छ । अहिले अस्पताल एक सय शय्यामा चल्दै आएको छ । तत्काल तीन सय शय्यामा अस्पताल स्तरोन्नति भए हामी २०८३ देखि एमबिबिएसको पढाइ सुरु गर्न सकिने बताइएको छ ।