धनगढी, २४ माघ / धनगढी उपमहानगरपालिकाले आफ्नो कार्यालयमा आउने सेवाग्राहीलाई पनि शुल्क पर्ने गरी ठेक्का सम्झौता आह्वान गरेको छ । उपमहानगरपालिकाको दक्षिण क्षेत्र तर्फको मूल गेट बाहिरको खाली क्षेत्रमा सवारी पार्किङ शुल्क लगाउँदा सेवाग्राही पनि मारमा पर्ने देखिएको छ ।
गेट बाहिरको दायाँ पट्टी निशूल्क राखेर बायाँ पट्टी शुल्क निर्धारण गर्ने गरी उपमहानगरपालिकाले ठेक्का आह्वान गरेको हो । माघ १७ गते ठेक्काका लागि बोलपत्र आह्वान गरिएको ठेक्काको न्यूनतम मूल्य दुई लाख तोकिएको छ ।
सूचनाका अनुसार ठेक्का कबुल गरेको संस्थाले प्रति शौचालयमा पिसाब गरेको प्रतिव्यक्ति पाँच रुपैयाँ, शौच गरेको प्रतिव्यक्ति १० रुपैयाँ, मोटरसाइकल पार्किङका गरेको प्रति घण्टा १० रुपैयाँ, तिन पाङ्ग्रे सवारीको प्रतिघण्टा २० रुपैयाँ र मिनी बस प्रतिघण्टा ३० रुपैयाँ शुल्क उठाउन पाउने सर्त राखिएको छ । पार्कीङ्ग क्षेत्रमा ठुला सवारी साधन बस ट्रक र टिप्पर भने राख्न नपाइने सूचनामा उल्लेख छ ।
धनगढी उपमहानगर पालिकाले जारी गरेको १५ दिने सूचनाको चौथो नम्बर बुँदामा चार्जिङ गर्ने प्रयोजनका लागि आउने सवारी साधनको बाट पनि पार्किङ शुल्क उठाउन पाइने बताइएको छ ।
यसरी विद्युतीय सवारी चार्ज गर्नेहरूले चार्ज गरेबापत विद्युत् प्राधिकरणलाई र राखेबापत नगरपालिकालाई गरी दुबैलाई मूल्य तिर्नुपर्ने बाध्यता देखिएको छ ।
‘विद्युतीय सवारी चार्जको युनिट हेरेर विद्युत् प्राधिकरण लेनै लिन्छ शुल्क निर्धारण गरिएको क्षेत्रमा सवारी राखे ठेक्का पाएको व्यक्तिले रकम लिन्छ’ राजश्व शाखाका प्रमुख लेखनाथ अधिकारीले बताए ।
सवारी चार्ज गर्दा विद्युत् प्राधिकरणलाई र चार्ज गर्न राखेबापत ठेकेदारलाई रकम दिने कुरा न्यायोचित नभएको गुनासो आइरहेको छ ।
‘चार्ज गर्न आउनेहरू पार्किङ गर्न आएका होइनन्। उनीहरू त चार्ज गर्न आएका हुन् तर उनीहरूसँग पनि पार्किङ शुल्क लिने कुरा ठिक भएन’ विद्युतीय सवारी चार्ज गर्न आएका एक सवारी धनीले भने ‘यो त सबैतिरबाट हामीलाई मार पारेजस्तो भयो । ’
उनले नजिकै रहेको हाटबजारमा आउनेहरू पनि सवारी दिएर आउने र उनीहरूलाई पनि त्यो स्थानमा राख्दा रकम लिने कुरा ठिक नभएको बताए । पालिकाले निःशुल्क भनेर निर्धारण गरेको क्षेत्रमा कुनै दिन धेरै सवारी राखेर साँघुरो हुन सक्ने र त्यो दिन सेवाग्राहीले पनि बायाँ पट्टी राख्दा शुल्क तिर्नु पर्ने हुन सक्ने बताए ।
‘निशूल्क तोकिएको ठाउँ सानो छ । त्यहाँ धेरै गाडी भएर सेवाग्राहीले बायाँ पट्टी सवारी राख्दा पैसा दिने कुरा त ठिक भएन नि’ ती व्यक्तिले भने ‘यसरी सेवाग्राहीसँगै पार्किङको शुल्क लिने गरी कम मात्रै उठाउने कि सेवाग्राहीलाई पनि सहज हुने गरी पालिकाले नीति बनाउने रु’
नगरपालिकाले पार्किङ शुल्क निर्धारण गरेको ठाउँमा यस अघि गौरा खेल लगायतका कार्यक्रम हुँदै आएका थिए । अब त्यो ठाउँमा उपमहानगरपालिकाले सार्वजनिक शौचालय सहित पार्किङ र चमेना गृह निर्माण भए पछि गौरा लगायतका सांस्कृतिक कार्यक्रम गर्ने स्थान पनि नोक्सान भएको स्थानीयको गुनासो छ ।