धनगढी, २३ माघ / निर्वाचन आयोगले उपनिर्वाचनको तयारी थालेको छ। २०७९ वैशाखमा स्थानीय तह निर्वाचन तथा मंसिरमा प्रतिनिधि र प्रदेश सभा सदस्यको निर्वाचनपछि रिक्त रहेका पदका लागि आयोगले उपनिर्वाचन गर्ने तयारी गरेको हो ।
सुदूरपश्चिममा स्थानीय र प्रदेश सभामा गरि ५ पद रिक्त छन्। प्रदेशतर्फ बझाङ क्षेत्र नम्बर १ को ९१० मा उपनिर्वाचन हुँदैछ। त्यहाँ नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंह विजयी भएका थिए। उनको दुर्घटनामा परी निधन भएको थियो।
यस्तै बाजुराको स्वामीकार्तिक गाउँपालिकामा उपाध्यक्ष, बझाङको सुर्मा गाउँपालिका–४ को वडाध्यक्ष, डोटीको पुर्वीचौकी गाउँपालिका–६ को वडाध्यक्ष, दार्चुलाको दुहुँ गाउँपालिका–५ को वडाध्यक्ष पद रिक्त छन् ।
रिक्त रहेका ठाउँमा पदपूर्तिका लागि आयोगले सरकारसँग परामर्श गरी उपनिर्वाचनको मिति तोक्ने आन्तरिक तयारी गरिरहेको छ। प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले उपनिर्वाचनको तयारीबारे आइतबार उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग छलफल गरेका थिए।
आयोगले आउँदो वैशाखरजेठभित्रै उपनिर्वाचन गर्ने गरी गृहकार्य गरेको छ।