धनगढी,२१ माघ / कैलालीको गोदावरी नगरपालिकाले आफ्नो क्षेत्रमा रहेको खुटिया नदीमा अवैध उत्खनन गरिरहेको छ । गोदावरी नगरपालिकाले खुटियाबाट नदीजन्य सामाग्री उत्खननका लागि अन्य कसैसँग सम्झौता नगरी आफैले मापदण्ड विपरीत डोजरको प्रयोग गरेर नदीजन्य पदार्थ उत्खनन गरिरहेको हो ।
नगरपालिकाका नदीजन्य पदार्थको कर सङ्कलनका लागि गठन गरिएको समितिका संयोजक रहेका देवराज भट्टले १५ हजार जेसिबीबाट र एक्स्काभेटरबाट २० हजारका दरले मासिक कर लिने गरेको बताए। यता, कार्यपालिकाको बैठकबाट ठेक्का सम्झौता नभएसम्मका लागि २४० रुपैयाँ प्रति घन मिटरका दरले नदीजन्य पदार्थ विक्री गर्ने निर्णय गरेको छ। कार्यपालिकाले नगरपालिकाबाट कर्मचारी परिचालन गरेर प्रति घन मिटरको २४० रुपैयाँमा नदीजन्य पदार्थ विक्री गर्ने निर्णय गरेको हो।
तर, तस्करसँग मिलेर मनोमानी रूपमा नदीमा डोजर प्रयोग गरिएको छ । आर्थिक प्रशासन शाखा प्रमुख खगेन्द्र चौधरीका अनुसार अहिले ८/१० वटा वटा जेसिबीबाट र एक्स्काभेटरलाई नगरपालिकाले उत्खनन गर्न दिएको छ । खोलामा जेसिबीबाट र एक्स्काभेटर प्रयोग गर्न नपाउने नियम कुल्चिँदै नगरपालिकाले नै अवैध रूपमा उत्खनन गरिरहेको छ ।
जसका कारण नदिमा ताल बन्दै छ । नदिमा अहिले १२ फिट सम्म गहिरो बनाएर गिट्टी बालुवा झिकिरहेको स्थानीय टेकबहादुर ऐरले बताए । उनका अनुसार यसरी अवैध उत्खनन गर्दा आफूहरूको बस्ती नै जोखिममा पर्ने खतरा बढेको छ । बर्सातमा खुटिया खोला बस्तीमा पस्छ जसका कारण खोला आसपासका थुप्रै गाउँहरू डुबानमा पर्ने गरेका छन् त्यसैमाथि यसरी अवैध उत्खनन हुँदा आगामी बर्सा थप समस्या हुने स्थानीयको चिन्ता छ ।
गोदावरी नगरपालिका क्षेत्रमा पर्ने खुटियाबाट धनगढी र अत्तरियासम्म नदीजन्य पदार्थको ढुवानी हुने गरेको छ। नगरपालिकाले खुटिया खोलामा मापदण्ड विपरीत उत्खनन गरिरहेको स्थानीयको आरोप छ । कैलालीको गोदावरी नगरपालिकाले भदौमा १३ करोडमा तीन खोलाको नदीजन्य पदार्थ सङ्कलन तथा विक्रीका लागि बोलपत्रको सूचना सार्वजनिक गरेको थियो। तर, कुनै पनि कम्पनीहरूले बोलपत्र खरिद गरेनन्। कसैको ठेक्का नपरेपछि अहिले नगरपालिका आफैले उत्खनन गरिरहेको छ ।
घाटहरूमा खटिएका कर्मचारीले प्रति घन मिटर २४० रुपैयाँ राजस्व सङ्कलन गर्न कार्यपालिकाले भनेको छ। तर, मनोमानी रूपमा डोजरहरू प्रयोग गरेर नदीजन्य पदार्थको सङ्कलन तथा विक्री गर्दै आएका हुन्। नगरपालिकाले वातावरणीय प्रभाव मूल्याङ्कन ९आईईई० गरेर निश्चित मात्राको नदीजन्य पदार्थ विक्रीका लागि ठेक्का सम्झौता गर्नुपर्ने हो। नगरपालिकाले आईईई गरेका क्षेत्रमा मात्र कम्पनीले नदीजन्य पदार्थको उत्खनन गर्ने हो।
तर, गोदावरीमा ठेक्का नभएको मौकामा तस्करहरूले मनोमानी रूपमा नदीको दोहन गर्दै आएका हुन्। पुल आसपासको ५ सय मिटरमा उत्खनन गर्न नपाइने हुँदा पनि यहाँ नगरपालिकाले पुलको तलैबाट उत्खनन गरिरहेको हो । अघिल्लो कार्यकालमा पनि खुटिया नदीबाट करोडौँ राजश्वको लागि नदीजन्य बस्तुको उत्खनन भइरहेको थियो । तर, त्यो बेलामा सिमाङ्कन गरेर उत्खनन गर्न पाइने क्षेत्रबाट मात्रै उत्खनन भइरहेको पूर्व मेयर हरिसिंह साउदले जानकारी दिए ।
उनले अहिले मापदण्डविपरित र अवैध ढंगले नगरपालिकालेनै उत्खनन गरिरहेको आरोप लगाए । शुक्रवार एमाले गोदावरीको नेतृत्वमा स्थानीयहरूले नगरपालिकाले गरिरहेको उत्खननको क्षेत्र अवलोकन गरेका थिए । त्यस क्रममा ठुलो समस्या देखिएको एमाले नेता गोकर्ण भट्टले बताए ।जनताको जनजीवनसँग खेलबाड भएको भन्दै उनले त्यस विरुद्ध पाटीले सशक्त रूपले प्रतिवाद गर्ने बताए । नगरपालिकी उपप्रमुख शारदा देवी रोकायाले पनि नदिमा मापदण्ड विपरीत उत्खनन भइरहेको पुष्टि गरिन् । उनले मापदण्ड भन्दा बाहिर गएर खोलामा ताल बनाइएको स्वीकार गरिन् ।