धनगढी १३ माघ/कैलालीको अत्तरियामा दोहोरी साँझको विवादसँग जोडिएको मृत्यु प्रकरणको अनुसन्धान गर्न प्रहरीको विज्ञ टोली समेत खटिएको छ ।गत २५ पुसको राति अत्तरियाको न्यू दोहोरी साँझमा विवाद भएर निस्किएका कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ गुलरियाका ४२ वर्षीय श्याम देउवाको मृत्यु प्रकरणमा विज्ञ टोली खटाइएको प्रहरीले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक९डीआईजी० रविन्द्र केसीले नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरबाट विज्ञ टोली खटाएर घटनाको सुक्ष्म अनुुसन्धान भइरहेको जानकारी दिए ।केसीकाअनुसार विज्ञ टोलीले देउवाको मृत्यु प्रकरणमा पक्राउ परेका ६ जना अभियुक्तहरुको पोलिग्राफ लगायतका काम सकेको छ ।
‘यो घटनाको अनुुसन्धान गर्न प्रदेश कार्यालय महेन्द्रनगरको विज्ञ टोली खटिएको छ । उहाँहरुले अभियुक्तहरुको पोलिग्राफ परीक्षण लगायतका काम सक्नुभएको छ,’ डीआईजी केसीले भने, ‘उहाँहरु काम गर्दै हुनुहुन्छ । अहिले ताजा प्रगति केही छैन ।’प्रदेश प्रहरी कार्यालयकाअनुसार घटनाको अनुसन्धान गर्न प्रदेश कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक नरपती भट्ट नेतृत्वको टोली खटिएको छ । यसका अतिरिक्त जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले समेत घटनाको अनुसन्धान गरिरहेको छ ।
विगतमा यस्ता खालका घटनामा प्रदेश अनुसन्धान समूहका अधिकृतहरुलाई पनि खटाइने गरेकोमा यसपटक भने कसैलाई पठाइएको छैन । तर अनुसन्धान समूहका प्रहरी कर्मचारीले समेत सूचना संकलन लगायतका काममा सहयोग गरिरहेको डीआईजी केसीले बताए ।
पुस २५ गते राति साथीसँगै अत्तरियास्थित न्यू दोहोरी साँझमा गएका देउवा त्यहाँ भएका अन्य व्यक्तिसँग वादविवाद भएपछि घर जान भन्दै बाहिर निस्किएका थिए । उनीसँगै गएका कृष्णपुरकै टेकबहादुर नायक मोबाइल दोहोरी साँझमै छुटेको भन्दै ल्याउन गएका बेला उनी त्यहाँबाट एक्लै हिँडेका थिए ।देउवालाई नदेखेपछि उनकै मोटरसाइकल चढेर नायक होटलमा सुत्न गएका थिए तर देउवा भोलिपल्ट गोदावरी नगरपालिकाको चौकीडाँडामा अर्धचेत अवस्थामा भेटिएका थिए । देउवाले त्यहाँबाट फोन गरेपछि आफन्तले घर पुगाएका थिए ।
शरीरमा चोटपटक देखेपछि आफन्तले उपचारका लागि त्यही दिन धनगढी ल्याएका थिए तर उनको उपचारकै क्रममा मृत्यु भएको थियो । देउवाको मृत्यु भएपछि हत्या गरिएको भन्दै उनीसँगै गएका साथीसँगै ६ जनाविरुद्ध परिवारले किटानी जाहेरी दिएको थियो ।
त्यसपछि कैलाली प्रहरीले नायकसहित गोदावरी नगरपालिका–१ का २७ वर्षीय बिनोद शाह, गोदावरी–६ बस्ने २४ वर्षका प्रकाश ओली, वडा नम्बर १ बस्ने २५ वर्षीय उमेश बडेला, २८ वर्षीय यज्ञ बिक, कृष्णपुर नगरपालिका –९ बस्ने ३८ वर्षीय रामबहादुर ऐर पक्राउ गरेको थियो । उनीहरुलाई नियन्त्रणमा राखेर अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।