धनगढी, १२ माघ / सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई कृषि र पर्यटन क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन्।
आवासीय नेपाली संघ (एनआरएनए) का प्रतिनिधिमण्डलसँगको छलफलका क्रममा मन्त्री शाहीले सो आग्रह गरेका हुन् । सुदूरपश्चिमको जीवनस्तर सुधार्न जरुरी रहेको बताउँदै एनआरएनएको सहयोग जरुरी रहेको मन्त्री शाहीको भनाइ छ । हाम्रो प्रदेशमा खानेपानी र जैतुनको तेल उत्पादनमा लगानी गरेर पनि आम्दानी बढाउन सक्ने सम्भावना भएकाले त्यसतर्फ सोच्न पनि मन्त्री शाहीले आग्रह गरे ।
‘यहाँको पानी दिल्ली र लखनउजस्ता भारतका ठूला शहरमा पुगाउन सकिन्छ’ उनले भने, ‘जैतुनको तेल त विश्वभरी लैजान सकिन्छ ।’ मन्त्री शाहीले विस्तारै नेपालका राजनीतिकर्मी र कर्मचारीको सोचमा परिवर्तन भइरहेकाले एनआरएनएले लगानी गर्ने वातावरण बन्ने दावी गरे । उनले जनतालाई आशा जगाउन, सकरात्मक सन्देश दिन सरकार र एनआरएनएले समेत नयाँ ढंगले सोचेर अघि बढ्नुपर्ने बताए ।
सो अवसरमा एनआरएनएका अध्यक्ष डाक्टर बद्री केसीले अझै ऐन, कानुनका कारण पनि लगानी गर्न समस्या रहेको बताउँदै त्यस्तो समस्या सङ्घ र प्रदेश दुवैतिर रहेको बताए । यद्यपि आफूहरुले सुदूरपश्चिम प्रदेशलाई लगानी गर्ने हिसावले प्राथमिकतामा राखेको बताए।