कैलाली, ७ माघ / दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ का ४३ वर्षका पेण्डुवा चौधरी श्रीमतीको हत्या आरोपमा पक्राउ परेका छन् ।
उनले श्रीमती लक्ष्मी चौधरीलाई टाउकोमा रडले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
गएराति रक्सीले मातेका चौधरीले श्रीमतीलाई कुटपिट गरी हत्या गरेका हुन् । चौधरीले श्रीमतीलाई कुटपिट गरेपछि रोक्न पुगेका दुईजना छिमेकीमाथि पनि चौधरीले रड प्रहार गर्दा घाइते भएका छन् ।
यस्तै नवलपरासीको बर्दघाट सुस्ता पूर्व नवलपुरको हुप्सेकोटका ३३ वर्षका शेरबहादुर लम्कामगर गर्भवती श्रीमतीको हत्या आरोपमा पक्राउ परेका छन् ।
आठ महिनाको गर्भ रहेकी श्रीमती ३४ वर्षकी चनिसरा लम्कामगरलाई कुटपिट गरी हत्या गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
बिहान १ बजेतिर श्रीमतीको हत्या गरेका मगरलाई उनको घरबाटै पक्राउ गरिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
