काठमाडौं,४ माघ / प्राज्ञिक विद्यार्थी परिषद् नेपालले नेपालको समग्र शिक्षा क्षेत्र सुधारका लागि माघ महिनाभर सञ्चालन गर्ने शैक्षिक सुधार अभियानका कार्यक्रमहरू घोषणा गरेको छ । बिहीवार त्रिभुवन विश्वविद्यालय उपकुलपति कार्यालय अगाडि पत्रकार सम्मेलनको आयोजना गरि देशको समग्र शिक्षा क्षेत्र सुधारका लागि राष्ट्रव्यापी शैक्षिक अभियानका कार्यक्रमहरू घोषणा गरेको हो ।
विद्यार्थी परिषद्का राष्ट्रिय महासचिव विष्णुप्रसाद पंगेनीले देशको समग्र शैक्षिक अवस्था विस्तारै खस्कदै गइरहेकोले विद्यार्थी परिषद्ले प्रवेश, परीक्षा, परिणाम, पात्रो र पाठ्यक्रम सुधार गर्नु पर्ने आवश्यकता भएकोले राष्ट्रव्यापी शैक्षिक अभियान सञ्चालन गर्नु पर्ने आवश्यकता रहेको बताए ।
आज विश्वविद्यालयहरूका उपकुलपति, रेक्टर, रजिस्ट्रार दलीय भागबन्डाबाट नियुक्ति हुने परिपाटीको अन्त्य गर्नु पर्ने, नैतिक शिक्षा लागू गर्नु पर्ने, ट्रास्कृप्ट लिने व्यवस्था अनिवार्य रूपमा अनलाइनबाट गरिनु पर्ने, नेपाली भाषामा पनि प्रश्न पत्र तयार गर्नु पर्ने, कक्षा १२ सम्म संविधानमा निर्दिष्ट गरिएको निशुलल्क शिक्षालाई छिटो भन्दा छिटो लागू गर्नु पर्ने जस्ता मागहरू राख्दै शैक्षिक अभियान सञ्चालन गर्न गइरहेको महासचिव पंगेनीले बताए ।
साथै राष्ट्रिय मिडिया प्रमुख कृष्ण हुमागाईंले त्रिविको मुल्यांकन पद्धति ठिक नभएको र स्नातक तहसम्म नेपाली मिडियममा अध्ययन गरेका विद्यार्थीले भाषाकै कारण प्रश्नपत्र बुझन नसकेर फेल भएको विषय बताउदै छिटो भन्दा छिटो दुवै भाषामा प्रश्नपत्र तयार गर्न माग गरेका थिए । साथै उनले उपकुलपति नियुक्तिका लागि दलको नेताहरूलाई भेटन बन्द गर्दै कसरी विश्वविद्यालय राम्रो र उत्कृष्ट बनाउन सकिन्छ भन्ने विषयमा ध्यान केन्द्रीत गर्न अनुरोध गरेका थिए ।
विद्यार्थी परिषद्ले पत्रकार सम्मेलन मार्फत शिक्षा क्षेत्रको समग्र सुधारका लागि गरिने यो राष्ट्रव्यापी शैक्षिक अभियान हरेक विद्यार्थीहरूका मुद्दा भएकाले देशभरका शिक्षाप्रेमी विद्यार्थी, शिक्षक, शिक्षाविद्, प्राध्यापक, अभिभावक, राजनीतिकदलहरु, पत्रकारलगाय सम्पूर्ण व्यक्तिहरूलाई यस अभियानमा जोडिएर सफल बनाउन समेत आग्रह गरेको छ ।