धनगढी, ४ माघ / कैलालीको गोदावरी नगरपालिकाको प्रशासनिक भवन दोस्रो पटक उद्घाटन गर्ने तयारी भएपछि त्यहाँ विवाद सिर्जना भएको छ । एमालेलेबाट निर्वाचित तत्कालीन मेयर हरिसिंह साउदले १४ चैत २०७८ मा प्रशासनिक भवनको उद्घाटन गरेको भवनको कांग्रेसबाट निर्वाचित अहिलेका मेयर बिरेन्द्र भट्टले बिहीवार उद्घाटन कार्यक्रम राखेपछि तनाव सिर्जना भएको हो ।
प्रशासनीक भवन पुनः उद्घाटन गर्ने काम अलोकतान्त्रिक भएको भन्दै विरोधमा उत्रिएको नेकपा एमालेले नगरपालिका घेराउ गरेको छ ।एमालेले कुनै पनि हालतमा प्रशासनिक भवनको उद्घाटन गर्न नदिने भन्दै विरोधमा उत्रिएको छ ।
नेकपा एमाले निकट नेता, कार्यकर्ताले नगरपालिका घेराउ गरेका छन् भने नगर प्रमुखसहितका जनप्रतिनिधि भवन उद्घाटन कार्यक्रमका लागि नगरपालिका जाने तयारीमा छन् । त्यहाँ लफडा हुनसक्ने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ ।