मसुरिया २ माघ/ डोटीको बरालगाउँमा थातथलो भई हाल कैलालीका विभिन्न पालिकामा बसोबास गरिरहेकाहरुको सामाजिक संस्था श्री केदार भागेश्वर बरालगाउँ समाजले माघेत्यार तथा नरहरी भेटघाटू कार्यक्रम सम्पन्न गरेको छ ।
मंगलबार गौरीगंगा नगरपालिका-८, बढैपुरस्थित ज्योतिषी तोयनाथ जोशीको घरमा गई समाजका ज्येष्ठ नागरिक, अग्रज, समाजसेवी तथा सदस्यहरुको जमघटले माघेत्यार तथा नरहरी भेटघाट गरेका हुन् । अग्रज तथा ज्येष्ठ नागरिकको कुरा सुन्दै समाजले आगामी दिनमा सामाजिक क्षेत्रमा कसरी काम गर्न सकिन्छ भनेर सुझाव संकलन गरेको छ । समाजको भेलाले लक्ष्मीदेवी जोशी संयोजक रहनेगरी बरालगाउँ महिला उपसमिति तथा युवाहरुलाई समेटेर बरालगाउँ युवा उप समिति गठन गर्न संयोजकमा माधवप्रसाद जोशीलाई चयन गरेको छ । संयोजकले केही दिनमा महिला तथा युवा भेला गरि थप समिति विस्तार गरिने समाजले जनाएको छ ।
आगो ताप्नु मुढाको, कुरा सुन्नु बुढाको उखान शीरोधार्य गर्दै घाम ताप्दै बरालगाउँका अग्रज तथा ज्येष्ठ नागरिकका अनुभव तथा सुझाव उपस्थित सदस्यहरुले सुनेका थिए । अग्रजका अनुभव नै आफूहरुको मार्ग दर्शन भएको बताउँदै समाजका अध्यक्ष चेतराज जोशीले आगामी दिनमा बरालगाउँ मूलघर भएकाहरुलाई जोड्दै सामाजिक, आर्थिक तथा समुन्नत समाज निर्माणमा अघि बढ्ने बताए । भेटघाट कार्यक्रममा धनगढी, गौरीगंगा र कैलारी गाउँपालिकामा बसोबास गरिरहेकाहरुको उपस्थिति रहेको थियो ।




