धनगढी २८ पुस/फुलवारी जेसिजको ९ औं पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । धनगढी उपमहानगरपालिका(१८ स्थित एभरेष्ट क्याफेमा सञ्चालन भएको स्थापना कार्यक्रम भव्यरुपमा सम्पन्न भएको छ ।
फुलवारी जेसिज बर्ष २०२३ का अध्यक्ष मनोज चौधरीको सभाअध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य डिल्लिराज पन्त ज्यूको प्रमुख आतिथ्यता रहेका थिए । कार्यक्रमको विशिष्ट अतिथिमा धनगढी उपमहानगरपालिका वडा नम्बर १४मानबहादुर विष्ट, १५का वडा अध्यक्ष सुखदेव राना, १८का वडा अध्यक्ष भुवन रिजाल, १९ का वडा बाधुराम चौधरी साथै धनगढी जेसिज बर्ष २००५ का अध्यक्ष तथा नेपाली काँग्रेसका नेता नरनारायण शाह मनु र नेपाल जेसिज बर्ष २०२४ का निर्वाचित तथा फुलवारी जेसिजका लागि निरुपित राष्ट्रिय उपाध्यक्ष राजन शर्मा पौडेल रहेका थिए ।
फुलवारी जेसिजका पुर्व अध्यक्ष ज्यूहरुले कार्यक्रममा बोल्दै फुलवारी जेसिजका समस्याहरुको बारेमा जानकारी राख्नुभएको थियो भने विशिष्ट अतिथी धनगढी उपमहानगरपालिका वडा नम्बर १८ का अध्यक्ष भुवन रिजाल ज्यूले फुलवारी जेसिजको लागि सचिवालय उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
कार्यक्रममा लोकेन्द्र मोहन स्मृति प्रतिष्ठान का अध्यक्ष नरनारायण शाह मनुको आर्थिक सहयोगमा फुलवारी जेसिजले स्थापना गरेको लोकेन्द्र मोहन स्मृति उत्कृष्ट युवा बर्ष सम्मानबाट राष्ट्रिय खेलाडी अस्मिता चौधरीलाई नगद ५ हजार ५ सय ५ सहित सम्मान गरेका छन् । साथै कार्यक्रमका प्रमुख अतिथि पन्तले बन्धुत्वको भावनालाई आत्मसात गर्दै अगाडि बढ्नुपर्ने बताएका छन् । कार्यक्रमको सञ्चालन फुलवारी जेसिज बर्ष २०२३ का महासचिव कामदेव ओझाले गरेका थिए भने स्वागत मन्तव्य कार्यकारिणी उपाध्यक्ष जगदीश घर्तिमगरले गरेका छन् ।
सन् २०१५ मा फुलवारिमा सक्रिय युवाहरु द्वारा स्थापना भएको फुलवारी जेसिजले समाजमा विभिन्न तालिम हरु सञ्चालन गर्दै युवा हरुको व्यक्तित्व तथा नेतृत्व विकास गर्दै आएको छ ।