धनगढी,२८ पुस / धनगढीका पत्रकार दिपक उपाध्याय नेपाललाई ’लोकेन्द्र-मोहन युवा वर्ष सम्मान’गरीएको छ । १ सय ३ पटक रक्तदान गरिसकेका नेपाली धनगढीबाट पत्रकारिता गर्दै आएका नेपाललाई शुक्रबार ‘लोकेन्द्र-मोहन युवा वर्ष सम्मान २०२३’ प्रदान गरिएको छ।
धनगढी जेसिजद्वारा स्थापित उक्त सम्मान शुक्रबार आयोजित समारोहमा प्रमुख अतिथि र पुरस्कार स्थापना गरेका पूर्व अध्यक्ष नरनारायण शाहले नेपाललाई प्रदान गरेका हुन्। निरन्तर रक्तदान गरी मानवीय सेवाका निमित्त अतुलनीय योगदान दिएका कारण उनलाई सम्मान प्रदान गरिएको धनगढी जेसिजले जनाएको छ।
‘तपाईं समग्र युवाका लागि प्रशंसनीय र प्रेरणादायी व्यक्तित्व बन्न सफल हुनु भएकाले यहाँको अविष्मरणीय योगदान र लगनशीलताको उच्च कदर गर्दै धनगढी जेसिजद्वारा स्थापित युवा वर्ष सम्मान २०२३ यहाँलाई सगौरव प्रदान गरिएको छ,’ सम्मान पत्रमा उल्लेख छ।
जेसिज वर्ष २०२३ का अध्यक्ष मोहन ओझाको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो।
