धनगढी ८ पुस/राष्ट्रिय अपाङ्ग महासंघको सुदूरपश्चिम प्रदेश कार्यालयमा तालाबन्दी गरिएको छ । केन्द्रीय अध्यक्षले प्रदेश समितिसँग सहकार्य नगरेरै मनोमानी रुपमा कार्यक्रम गर्ने गरेको भन्दै सुदूरपश्चिम प्रदेश कार्यालयमा तालबन्दी गरिएको हो ।विभिन्न ११ बुँदे माग राख्दै सुदूरपश्चिम प्रदेश कार्यालयमा तालाबन्दी गरिएको हो ।
‘केन्द्रीय अध्यक्षले सुदूरपश्चिम प्रदेश समितिसँग सहकार्य नै नगरेर आफूखुसी सुदूरपश्चिममा आएर कार्यक्रम गरेका छन्,’ राष्ट्रिय अपाङ्ग महासंघ सुदूरपश्चिम प्रदेशका कार्य समिति सदस्य नरेन्द्रप्रसाद जैशीले भने,‘सुदूरपश्चिम प्रदेशमा प्रदेश कार्यालय हुँदाहुँदै पनि यहाँ आएर प्रदेशलाई कुनै जानकारी नगरी कार्यक्रम गर्ने र आर्थिक अपारदर्शीता गरेकाले हामी त्यो गलत कार्यका विरुद्धमा छौँ ।’
केन्द्रीय अध्यक्षले देशभरका प्रदेश समितिलाई सौतेनी व्यवहार गरेको बताउँद उनले भने,‘प्रदेशमा कार्यक्रम गर्दा केन्द्रले आफूखुसी गर्ने र प्रदेशलाई फड्के किनाराका साछी बनाउने गरेको छ ।’ सुदूरपश्चिम प्रदेशले गरेको साधारण सभालाई पनि अध्यक्षले पूर्वाग्रही ढंगले मान्यता नदिएको आरोप पनि उनले लगाए । शासन व्यक्तिको नभई विधिको हुनुपर्ने बताउँदै उनले भने,‘अपाङ्गता भएका मानिसमाथि व्यक्तिगत राजनीति गर्न हुँदैन, सबैलाई समान व्यवहार गरिनुपर्छ ।’ केन्द्रीय अध्यक्षले सुदूरपश्चिम प्रदेशलाई सौतेनी व्यवहार देखाएकाले आफूहरु आन्दोलनमा उत्रिन बाध्य भएका हौँ ।
सुदूरबाटै पुग्यो केन्द्रसम्मै विवाद
गत मंसिर २३ गतेका दिन राष्ट्रिय अपाङ्ग महासंघ नेपालका केन्द्रीय अध्यक्ष देवीदत्त आचार्यले सुदूरपश्चिममा रहेको प्रदेश कार्यालयको सहकार्य बिना एकलौटी रुपमा सुदूरपश्चिमका ९ वटै जिल्लाबाट आफू निकटका व्यक्तिहरुलाई बोलाएर कैलालीको टीकापुरमा एक कार्यक्रम गरे । उक्त कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल सुदूरपश्चिम प्रदेश कार्य समितिलाई बेवास्ता गरियो ।
केन्द्रीय कार्यालयको कार्यक्रम आफ्नो प्रदेशमा गर्न लागेको खबर पाएका प्रदेश समिति खुसी थिए । तर, जब केन्द्रीय अध्यक्षले प्रदेश समितिसँग सहकार्य गर्नु त परै जाओस् निम्तोसम्म नदिएपछि केन्द्रीय अध्यक्ष र सुदूरपश्चिम प्रदेश समितिबीच टकराव सुरु भयो ।
गत मंसिर ३० गते सुदूरपश्चिम प्रदेश समितिको पाँचौ वार्षिक साधारण सभा भयो । उक्त साधारण सभाको भेलाले प्रदेशका सचिव नन्दराज भट्टले दिएको राजीनामा स्वीकृत ग¥यो र उक्त ठाउँमा साधारण सभाबाट नरदीप धामीलाई सचिवमा पद पूर्ति गरियो । नयाँ सचिव नियुक्त लगत्तै केन्द्रीय अध्यक्षले विधानविपरीत पुरानै सचिवलाई पुनर्वाहाली गरे । टीकापुरमा केन्द्रले प्रदेशसँग समन्वय नगरी गरेको कार्यक्रम बहिष्कार गर्ने निर्णय गरेकोमा केही साथीहरु गएकाले उनीहरुलाई कारबाही गरिनुपर्ने भन्दै आफूले प्रदेश सचिव पदबाट राजीनामा दिएको भट्टले बताए । उनले भने,‘प्रदेशले राजीनामा स्वीकृत ग¥यो । तर, केन्द्रले पुनर्बहाली गरिदियो ।’
केन्द्रीय अध्यक्षले टीकापुरमा एकलौटी कार्यक्रम गरेको भन्दै विरोध जनाएको प्रदेश समिति रिसिइबी साँध्दै प्रदेश अध्यक्ष मानबहादुर साउँदलाई निलम्बन नगरी प्रदेशका उपाध्यक्ष विमला चौधरीलाई कार्यवाहक अध्यक्षका रुपमा काम गर्न निर्देशन दिएका छन् । जसले गर्दा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल प्रदेश र केन्द्रबीचको टकराव सतहमा छताछुल्ल देखिएको छ ।