धनगढी, ५ पौष / धनगढी उपमहानगरपालिका वडा नम्बर १६ मा भादा होमस्टे महोत्सव आयोजना हुने भएको छ ।
थारू होम स्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समितिको आयोजनामा यही पुस १७ गतेदेखि महोत्सवको आयोजना गरिने बताएका छन् । आज पत्रकार सम्मेलन गरी महोत्सव आयोजनाका बारेमा जानकारी दिनुभएको हो । भादामा पर्यटन प्रवद्र्धन तथा सो वडाको विकासका लागि १७ गतेदेखि शुरु हुने महोत्सव २२ गतेसम्म सञ्चालन हुने छ ।
भादामा सन २०११ देखि महोत्सव आयोजना हुँदै आएको छ। थारु होमस्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीनारायण चौधरील २० घरमा सञ्चालनमा रहेको होमस्टेको विकास तथा थारू कला, संस्कृति, खानपानको प्रवर्धनको लागि महोत्सव आयोजना हुँदै आएको बताए।
स्थानीयहरूले आउने पर्यटकलाई मनोरञ्जन प्रदान गर्न थारु समुदायको मौलिक संस्कृति सखिया, झुम्रा, मघौटा, लठ्ठी, बैठक्की नाँचलगाति प्रदर्शन गर्दै आएका छन् भने मौलिक परिकार ढिक्री, खरिया, फुलौरी, अण्डीक् भात, खुर्मा, पनझझरा, कचरीक् बरिया, घोंघी, गेङटा, सुटही, मुसाको सेकुवा, सिध्रा, महुवाको रक्सी, चामलको रक्सी र झोललगायतको व्यवस्था गर्दै आएका हुन्।
स्थानीयले पर्यटकलाई गाउँको रमणीय वातावरणको अवलोकन गराउन थारू समुदायको परम्परागत लहरुमा शेयर गराउँदै आएका छन्। आयोजना हुने महोत्सवमा करिब १ लाखले अवलोकन गर्ने अनुमान गरिएको छ भने सो महोत्सव सञ्चालनका लागि १९ लाख बराबरको खर्च अनुमान गरिएको छ ।
