काठमाण्डौ ३ पुस/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेता जन्माउने शिक्षालय ९लिडरसिप एकेडेमी० सञ्चालन गर्ने भएको छ। एक वर्षभित्र सञ्चालनमा ल्याउने गरी नेताहरू लागिपरेका छन्।वरिष्ठ उपसभापति डोलप्रसाद अर्यालका अनुसार एकेडेमी सञ्चालन प्रक्रिया अन्तिम चरणमा पुगिसकेको छ। काठमाडौंबाट ५० किलोमिटरको दुरी आसपासको स्थानमा एकेडेमी बन्ने उनले जानकारी दिए।
२०८४ को स्थानीय र केन्द्रीय चुनावका लागि उम्मेदवार छान्न तालिम दिन सकिने गरी एकेडेमी चलाउन लागेको रास्वपाले जनाएको छ।त्यसका लागि काभ्रेमा झण्डै १५ देखि ३० रोपनी जग्गाको व्यवस्थापन गर्न लागिएको छ। जग्गा लगभग निश्चित भइसकेको र अब त्यसलाई एक–दुई दिनमा नामसारी गरी पार्टीको स्वामित्वमा ल्याउन लागिएको नेताहरूले बताएका छन्।
एक व्यक्तिले चन्दावापत दिएको जग्गाबाट एकेडेमीको भौतिक संरचना व्यवस्थापनको सुरुवात गर्न लागिएको व्यवस्थापनमा खटिएका एक नेताको भनाइ छ।उपाध्यक्ष अर्यालले भने जग्गा लिएको ठाउँ खुलाएनन्।
‘मैले आफैँ लोकेसन भिजिट गरेर सम्भावित ठाउँबारे पार्टी सभापतिलाई जानकारी गराइसकेको छु,’ अर्यालले भने, ‘जग्गा लिँदा कसैलाई पनि आर्थिक भार पार्दैनौँ। हाम्रै पार्टीभित्रका साथीहरूबाट सहयोग प्राप्त भएमा जग्गा लिन्छौँ।’अहिले रास्वपाका केही नेताको समूह लिडरसिप एकेडेमी सञ्चालनको कार्यविधि बनाउन लागिपरेको छ।
सांसदसमेत रहेका उपसभापति अर्यालले नेतालाई राज्य, समाज र संगठनसँग सम्बन्धित विषयवस्तुप्रति पूर्ण ज्ञान र सीप सिकाउन आवासीय तालिम दिन लागिएको बताए।‘अहिले हामी काम गरिरहेका छौँ, राजनीतिमा नयाँ कुरा दिऊँ, जनतालाई आस जगाउने गरी काम गरौँ भनेर जानेको सीपलाई व्यवहारमा उतार्न एकेडेमी चलाउँदैछौँ,’ अर्यालले भने, ‘कार्यविधि र पाठ्यक्रमबारे गृहकार्य गरिरहेका छौँ।’
यस किसिमको अभ्यास चीन लगायतका केही मुलुकमा छ। चिनियाँ कम्युनिस्ट पार्टीले पनि कुनै पदमा नियुक्ति वा मनोनयन हुनका लागि यस खालका प्रशिक्षणलाई अनिवार्य बनाएको छ। रास्वपाले त्यस्तै अभ्यास नेपालमा भित्र्याउन खोजेको देखिन्छ।
‘नेपाल कसरी बनाउनेरु खास समस्या के होरु कोसँग के कस्ता क्षमता छन्रु यस्ता कुरा पहिचान गरेर त्यहीअनुसार जिम्मेवारी दिन एकेडेमीमै तालिम दिन्छौँ,’ अर्यालले थपे। सभापति रवि लामिछानेले जलेश्वरमा बसेको केन्द्रीय समिति तथा संसदीय दलको संयुक्त बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमा पनि सो कुरा उल्लेख गरेका छन्।
लामिछानेले राजनीति थाल्नुअघि टेलिभिजनमा ‘द लिडर’ रियालिटी सो गर्ने भनेर प्रचार गरेका थिए। त्यसको प्रचार सामग्री र निर्णायकमण्डल सार्वजनिक गरे पनि कार्यक्रम भने सुरु गर्न सकेका थिएनन्। सोही कार्यक्रमका नाममा उनले संकलन गरेको रकमका कारण पार्टी खोलेपछि आलोचनासमेत खेपेका थिए।
अहिले फेरि उनी आफैँले पार्टीअन्तर्गत रहने गरी नेता उत्पादन गर्न लिडरसिप एकेडेमीको अवधारणालाई पार्टीबाट अनुमोदन गराइसकेका छन्। रास्वपा, काभ्रेका नेताहरू जग्गा प्राप्त भइसकेकाले अब भवन निर्माणको काम अघि बढ्ने बताउँछन्।
सभापति लामिछानेले आफ्नो प्रतिवेदनमा उल्लेख गरेअनुसार, एकेडेमीले कार्यसम्पादनका लागि नेतालाई तालिम दिन्छ।
विभिन्न पदका लागि पाठ्यक्रम बनाइएको हुन्छ र सोही अनुसार विज्ञले तालिम दिन्छन्। व्यक्तिको क्षमताको आधारमा उम्मेदवार बनाइन्छ।
जुन पदका लागि इच्छुक हो, त्यो हेरेर सूची बनाएपछि तालिम दिइन्छ । यदि तालिममा राम्रो गर्न सक्ने देखिए त्यस्ता नेतालाई आगामी चुनावको लागि उम्मेदवार बनाउने नीति लिइएको छ।
‘रास्वपा आगामी चुनावमा केन्द्रित भइसकेको छ, अबको तीन वर्षपछि हामी हाम्रा नेतालाई सबै कुराले परिपक्व बनाउँछौँ,’ एक पदाधिकारीले भने।त्यति मात्र होइन, कुनै राजनीतिक नियुक्ति दिनुपरे त्यस्ता व्यक्ति तालिम गरेकाहरूबाटै छान्ने योजना रास्वपाको छ।रास्वपामा विभिन्न दलबाट मानिसहरू प्रवेश गरिरहेका छन्।
उनीहरूले पुरानै दलको सोच र शैली बोकेर आउन सक्ने भएकादले त्यस्ता व्यक्तिको पुरानो सोच बदल्न अनलर्निङ तालिमसमेत दिने तयारी छ।‘हामी ८४ को चुनाव केन्द्रित भइसकेका छौँ, अब एकेडेमी सञ्चालन गराएर ०८३ मै सबै पदमा उम्मेदवार छान्छौँ’, ती पदाधिकारीले थपे, ‘स्थानीय र केन्द्रीय चुनाव हुनुभन्दा एक वर्षअघि हामी उम्मेदवार बनाइसक्छौँ। योग्य उम्मेदवार उठाउने हाम्रो चाहना हो।’
एकेडेमीको प्रारम्भिक खाका तयार भइसकेको छ। अब भवन कस्तो बनाउने र त्यहाँ के कस्ता कुराले सजाउने भन्ने विषयमा रास्वपाका नेताहरू छलफलमा छन्। यसबाहेक एकेडेमी सञ्चालनको लागि आर्थिक व्यवस्थापनमा अहिले पार्टी जुटेको नेताहरू बताउँछन्। सभापति लामिछानेको अहिले बेलायत लगायतका देश भ्रमण पनि लिडरसिप एकेडेमीको आर्थिक स्रोत संकलन नै रहेको पार्टी नेताहरूले बताएका छन्।