धनगढी, २ पुस/तीन दिने अनसनको क्रममा कैलाली आएका डाक्टर गोविन्द केसीको अनसनको स्थानीय स्तरबाटै विरोध भइरहेको छ । कैलालीको गोदावरी नगरपालिका १ गेटामा निर्माण भएको संरचनामा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाको लागि यहाँका स्थानीयहरू संघर्ष गर्दै आएका छन् । तर मङ्सिर २९ गतेदेखि अनसन सुरु गरेका केसीले विश्वविद्यालय नभई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउनुपर्ने अडानमा बसेपछि उनको विरोध भइरहेको हो ।
विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले अनसन बस्न आएका केसीसँग सरकारसँगको मागमा विश्वविद्यालय नभएको भन्दै संघर्ष समितिले स्पष्टीकरण मागेपछि केसी रिसाएर धनगढी फर्किएका थिए । त्यसपछि धनगढीस्थित कृष्ण मन्दिरमा उनले अनसन सुरु गरे ।विगतमा यहाँ अनसन बस्न आउँदा उनको भव्य स्वागत तथा समर्थन पनि हुन्थ्यो । तर हाल चाहिँ उनको झिनो समर्थन मात्रै छ । त्यो भन्दा व्यापक विरोध भइरहेको हो ।
विश्वविद्यालय स्थापनार्थ गठित संघर्ष समितिका संयोजक लोकराज पाण्डेले गेटा बन्ने विश्वविद्यालयको थुप्रै काम अघि बढेको भन्दै डाक्टर केसीले सो कार्य अघि बढ्न नदिने गरी सत्याग्रहमा आएको आरोप लगाएका छन् । समितिले धनगढीमा पत्रकार सम्मेलनको आयोजना नै गर्दै गेटामा ६ सय शैयाको अस्पतालसहित विश्वविद्यालय निर्माण गर्नुपर्ने प्रदेशवासीको माग विपरीत केसीले स्वास्थ्य प्रतिष्ठानको मुद्दा उठाएकाले अनशन बस्न नदिएको उनको भनाइ थियो ।
शनिबार नै धनगढीमा चिकित्सा शिक्षा सरोकार संघर्ष समितिले डाक्टर केसीविरुद्ध नाराबाजीसहित प्रदर्शन गरेको थियो ।
समितिका संयोजक पाण्डेले भने, ‘अब त मोडालिटीमा पनि विवाद रहेन । स्पष्ट छ, विश्वविद्यालय बनाउने । सरकारले नै बनाउँछु भनेको बेला केही व्यक्तिहरू यहाँ हुन नदिन भ्रम सिर्जना गरिरहेका छन् । जबकि, विश्वविद्यालय सम्बन्धी विधेयक मन्त्रिपरिषद्बाट पारित गरी राष्ट्रिय सभामा समेत टेबल भइसकेको छ । सभामा टेबलपछि प्रतिनिधिसभाको समितिले आवश्यक छलफल थालेको छ । संघीय संसद्का दुई वटै सदनबाट विधेयक पारित गर्ने तयारीमा रहेको अवस्थामा त्यसको विषयान्तर गर्ने कार्य कदापि सह्य हुँदैन ।’
संघर्ष समितिका सह–संयोजक भट्टले डाक्टर केसी प्रदेशवासीको भावना र संघर्ष समितिको आन्दोलनको मर्म विपरीत आएकाले अनशन बस्न नदिएको उल्लेख गरे । शनिबार नै धनगढीमा चिकित्सा शिक्षा सरोकार संघर्ष समितिले डाक्टर केसीविरुद्ध नाराबाजीसहित प्रदर्शन गरेको थियो । हाल सर्वसाधारणदेखि राजनीतिकर्मी, पेसाकर्मीहरुले केसीको अनसनको विरोध गरिरहेका छन् ।
रातेपाटी अनलाइनबाट