दार्चुला २९ मंसिर/कपिलवस्तुमा ट्रकले ठक्कर दिदाँ दार्चुलाकी एक महिलाको मृत्यु भएको छ । कपिलवस्तुको शिवपुर नगरपालिका–५ मा बागमती प्रदेश ०३–००१ ख १८६६ नम्बरको ट्रकले ठक्कर दिदाँ दुहुँ गाउँपालिका–४ की करिब ५५ बर्षीया शान्तीदेवी बमको मृत्यु भएको हो ।
काठमाण्डौं जाने क्रममा दार्चुलाबाट सुदूरपश्चिम प्रदेश ०२–००१ ख १२५५ नम्बरको बसमा चढेकी बम शुक्रबार बिहान कपिलवस्तुमा बस रोकिएको बेला बाहिर निस्किएकी थिइन् । सोही समयमा विपरीत दिशाबाट आएको ट्रकले बमलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
ट्रकको ठक्करबाट गम्भीर घाइते बमलाई उपचारका लागि चौराह अस्पातल बुटबल लगिएको भएपनि उनको उपचारकै क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटा कपिलवस्तुका प्रहरी निरीक्षक गिताप्रसाद चौधरीले बताएका छन । प्रहरीले ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।