धनगढी २८ मंसिर/सुदूरपश्चिमका सीमानाकामा रहेका सशस्त्र प्रहरीले प्रदान गरिने सेवालाई प्रविधिमैत्री बनाउने तयारी थालिएको छ। बढी आवतजावत हुने नाकाहरुमा सशस्त्रलाई प्रविधिमैत्री बनाउन थालिएको हो।
सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्ट, मन्त्रालयका सचिव सुशील वैद्यसहितको टोलीले सशस्त्रका डिआइजी कुमार न्यौपानेलाई कम्प्युटर र प्रीन्टर हस्तान्तरण गरेको छ। कैलालीको त्रिनगर, खक्रौला र कञ्चनपुरको गड्डाचौकी नाकाका लागि १र१ थान उक्त सामग्रीहरु हस्तान्तरण गरिएको हो।
यस्तै सीमानाकाको तथ्यांक संकलन तथा अभिलेखिकरणका लागि मन्त्रालयले सफ्टवेयर पनि निर्माण गरिरहेको जनाएको छ। त्यस्तै सीमा सुरक्षालाई चुस्त बनाउन प्रदेशले मात्र नसक्ने भएकाले संघ सरकारले नै आवश्यक स्रोत साधन व्यवस्थापन गर्नुपर्ने मन्त्रीको भनाई छ। सोही क्रममा मन्त्रीसहितको टोलीले त्रिनगरको नागरिक सहायता कक्षको पनि अनुगमन गरेको हो ।