धनगढी २९ कार्तिक/दीपावली सकिएसँगै तराई मधेसका जिल्लामा छठपर्वको तयारी थालिएको छ। छठपर्व नजिकिँदै गएपछि कैलालीको मुख्य नदी मोहना घाँटमा स्थानीयवासीको सहयोगमा विशेषरूपमा श्रृङ्गारिने काम भइरहेको छ।छठ पुजा सेवा समितिको आयोजनामा हरेक वर्ष मोहना घाटमा पुजा कार्यक्रम हुँदै आएको छ ।
अहिले घाँटमा सरसफाई, स्टल राख्ने, मुर्ति तयारी लगायतका काम भईरहेको समितिका अध्यक्ष सन्तोष मण्डलले जानकारी दिए । उनले तराईमा छठ पर्व विशेष महत्त्वका साथ मनाउँदै आएको बताए ।यश पर्वको आफ्नो छुट्टै महत्त्व रहेकाले पनि तराईमा विशेष पर्वका रूपमा मनाइने गरेको छ ।प्रत्येक वर्ष छठ मनाउनेको सङ्ख्यमा वृद्धि भइरहेकाले छठपर्वका लागि आवश्यक पर्ने सामानको जोहो गर्न किनमेल गर्नेको बजारमा निकै भीड देखिन थालेको छ।
विगतमा केही समुदायले मात्र छठ पर्व मनाउने गरेकोमा ६र७ वर्ष यता, तराईमा बसोबास गर्दै आएका स्थानियहरू पनि पर्व मनाउन थालेको उनको भनाई छ ।यस वर्ष मङ्सिर ३ गते षष्ठीको दिन विधिपूर्वक साँझको अर्घ्य दिने भए पनि यसको मुख्य विधि तीन दिनअगावैदेखि निष्ठापूर्वक सुरू हुन्छन्।
छठको पहिलो दिन बर्तालु नहायखाय गरी छठपर्व आरम्भ गर्छन्। दोस्रो दिन खरना विधि गरिन्छ। खरनालाई पापको क्षय हुने दिन पनि भनिन्छ। खरनाका दिन राति गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरेर बर्तालु दिनभरि उपवास बस्ने गर्छन्।
बेलुकीपख चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्हो र माटाकै नयाँ भाँडामा सख्खर, दूध र चामलको खीर पकाइन्छ। यस्तो खीर केराको पातमा राखेर छठिमातालाई चढाइन्छ र चढाइसकेपछि बर्तालुले प्रसादका रूपमा ग्रहण गर्ने गर्छन्। यसलाई परिवारका अन्य सदस्यले पनि प्रसादका रूपमा ग्रहण गर्ने चलन रहेको मण्डलले बताए।
अर्को दिन बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिन बर्तालुले रातभरि जाग्राम बसी भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई फेरि अघ्र्य दिएर व्रत समाप्त हुन्छ। पारिवारिक सुख, शान्ति, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठपर्वका अवसरमा भीड लाग्ने गर्दछ। सूर्यको आराधनाबाट सुख, समृद्धि र सन्तान प्राप्ति एवं चर्मरोग निको हुने जनविश्वास रहेको छ।
ज्योतिषशास्त्रका आधारमा छठपर्वका समयमा ब्रम्हाण्डमा सूर्य दक्षिणयनतिर हुने भएकाले कन्या राशि समय पर्ने र यस बेलालाई सूर्य प्रकाश प्रखर तथा प्रभावकारी र मानवका लागि फलकारीसमेत मानिएको छ। छठपर्वको मुख्य प्रसादका रूपमा रहेका केरा, फलफूल, मीठाइ, अदुवा, उखुलगायत बासबाट बनेका अन्य सामग्रीको किनमेल गर्ने गरेको पाइन्छ।
महाभारतअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञात बासमा रहँदा उक्त गुप्तबास सफल होस् भनी सूर्य देवतालाई आराधना गरेको उल्लेख गरिएको छ। उक्त समयमा पाण्डव मिथिलाका किरात राजाका राज्यमा बास बसेका थिए। लोकगाथाअनुसार गुप्तबास सफल भएपछि सो समयदेखि छठपर्व मनाउने परम्परा चलिआएको देखिन्छ।
अर्कातिर सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिका पत्नी अनसुइयाले छठ व्रत गरेपश्चात अटल शौभाग्य र इच्छा पूरा भएपछि त्यही दिनदेखि छठपर्वको सुरुआत भएको पण्डित शास्त्रको कथन छ। छठपर्व मनाउनेको पछाडि धार्मिक मान्यता, वैज्ञानिक, ज्योतिषसम्बन्धी तत्व पनि त्यत्तिकै महत्व राख्दछ । जसअनुसार सूर्य तत्वबाट आफ्नो ज्ञानको अभिवृद्धि गरी जनकल्याणका लागि महत्वपूर्ण ठानिन्छ। भनिन्छ भौतिक विकास सूर्यमाथि नै आधारित भएकाले रुख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्तु सबैको अस्तित्व सबै सूर्यमाथि निर्भर भएको हुन्छ।


