धनगढी ७ कार्तिक/नवरात्रिको १० औं दिन धनगढीमा रावणको बध गरिएको छ । घटस्थापनादेखि धनगढीमा आयोजित रामलिलाका अवसरमा हरेक वर्ष पुतला बनाएर रावणको बध गर्ने प्रचलन छ ।
दुर्गा पूजा सेवा समितिको आयोजनामा हरेक वर्ष रामलिला धनगढीको क्षेत्रीय रंगशालामा सञ्चालन हुँदै आएको छ । आयोजक समितिका अध्यक्ष हरिशंकर ठाकुरले तिरबाट रावणको बध गरेको जनाइएको छ ।सत्यको विजय र असत्यको हार भएको मान्यता स्वरुप रामलिलालाई चित्रण गरिँदै आएको छ ।
रामले रावणमाथि विजया दशमीकै दिन विजय प्राप्त गरेको खुसियालीमा रावणको प्रतिमा बनाएर जलाउने कार्य त्रेतायुगदेखि चल्दै आएको धार्मिक परम्परा रहेको छ ।पचास फिट अग्लो रावणको पुत्ला भारतको आएका कलाकारले बाँस, रङ्गीचङ्गी पताका तथा विस्फोटक पदार्थ राखी सो प्रतिमा निर्माण गरिएको दुर्गापूजा समितिका अध्यक्ष ठाकुरले बताए । बाँसको तिल्ली, कागज, किरकिरी, कलर, दफ्ती, थर्माकोलको मद्दतबाट निर्माण गरिएको रावणको पुत्लामा ठूलो आवाज हुने बम तथा पुतला दहन गर्नुभन्दा पहिले आतिशबाजीको प्रदर्शन भएको थियो ।
पुत्ला टाउको, शरीर तथा खुट्टा गरी तीन भागमा बनाइन्छ र पुत्लामा पटाका जडान गरेपछि निर्धारित स्थानमा लगी सबै भागलाई जोडेपछि साजसज्जा गरी पुत्लाको स्थापित गरिन्छ । यहाँका रावणको पुत्ला दहनको दृश्य अत्यधिक आकर्षक हुन्छ । मर्यादा पुरुषोत्तम रामको लीलामा आधारित रामको प्रतिकात्मक बनेका राम भगवानले धनुषबाट रावणको नाभिमा तीर हानेपछि रावणको पुत्ला दहन हुन्छ ।
श्रद्धालुले असत्यमाथि सत्यको विजयका रूपमा भगवान् रामको दीप प्रज्वलन गरी पूजा आराधना गरिन्छ । भगवान् रामको धार्मिक विधिअनुसार पूजा सम्पन्न भएपछि रावणको पुत्ला दहन गरिन्छ र सोही राति विजय उत्सव मनाउने गरिन्छ । भगवान् रामको प्रतीकको रुपमा रहेका बालकले धनुषबाट रावणको नाभिमा तीर प्रहार गरेपछि रावणको पुत्ला जलेको थियो । रावण बध कार्यक्रम हेर्न नेपाल र भारतका हजारौं सर्वसाधारणको घुइँचो लागेको थियो ।