काठमाडौं ५ कार्तिक/ धादिङमा एकैदिन १२० भन्दा बढी परकम्प मापन गरिएको छ । आइतबार बिहान ७ बजेर ३९ मिनेटमा ज्वालामुखी गाउँपालिका–५, खरी आसपास केन्द्रविन्दु भएको ६.१ म्याग्निच्युडको धक्का मापन गरिएको थियो । त्यसपछि सो संख्यामा परकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
केन्द्रका भूकम्पविद् डा। मुकुन्द भट्टराईका अनुसार ६।१ म्याग्निच्युडको धक्का ०७२ सालमा गएको विनाशकारी गोरखा भूकम्पको परकम्प हो । त्यसपछिका धक्का भने ६।१ म्याग्निच्युडको परकम्प भएको उनले बताए । यसरी मापन गरिएका परकम्प दुई म्याग्निच्युडदेखि माथिका छन् । तीमध्ये सबैभन्दा ठूलो परकम्प ४.४ म्याग्निच्युडको छ । आइतबार अपराह्न ४ बजेर ३ मिनेटमा धादिङकै बनिया आसपास केन्द्रविन्दु भएको ४.४ म्याग्निच्युडको धक्का मापन गरिएको उनले जानकारी दिए ।