धनगढी २० असोज/दशरथ चन्द बैतडी विध्यार्थी समाज कैलालीको आयोजनामा वक्तृत्वकला प्रतियोगिता तथा दशै , तिहारको र छठ पर्वको शुभकामना आदान प्रदानको कार्यक्रम कैलाली बहुमुखी क्याम्पसको सभाहलमा सम्पन्न भएको छ ।
बडा दशैँको मौलिकतामा देखिएका विकृति र समाधानका उपाय भन्ने शीर्षकमा वक्तृत्वकला आयोजना गरिएको थियो । वक्तृत्वकला प्रतियोगितामा धनगढी उपमहानगरपालिका भित्रका ९ वटा विद्यालयका १५ जना छात्रछात्राको सहभागीता रहेको दशरथ चन्द बैतडी विद्यार्थी समाजकी सचिब ललिता ओझाले बताए ।
दशैँको बेला समाजमा देखिएका विकृतिलाई भावी पुस्ताले नकार्न सकुन र मौलाएका विकृतिलाई समाधान गर्न सकुन भन्ने उदेश्यले शुभकामना आदानप्रदानसँगै वक्तृत्वकला प्रतियोगिता समेत आयोजना गरिएको दशरथ चन्द बैतडी विद्यार्थी समाजका अध्यक्ष चेतन विक्रम चन्दले बताए ।
वक्तृत्वकला प्रतियोगितामा प्रथम भएका त्रिनगर माध्यमिक विद्यालयका सुनिल भट्टले रु ४४४४, द्वितीय भएका कैलाली मोडेल माध्यमिक विद्यालयका पंकज भट्टले रू ३३३३ , तृतीय भएका एक्सिस विद्याश्रमकी माला शर्माले रु २२२२ र सान्त्वना भएका ऐश्वर्या विद्या निकेतनका दिपक आउजीले रु।११११ पुरस्कार सहित प्रमाणपत्र प्राप्त गरेका हुन। बाँकी सहभागी प्रतियोगिलाई पनि प्रमाणपत्र प्रदान गरिएको विद्यार्थी समाजकी सचिब ओझाले बताए ।
साथै शुभकामना आदानप्रदान र वक्तृत्वकला प्रतियोगिता सँगै कैलाली बहुमुखी क्याम्पसका हालै पिएचडी गर्ने सह(प्रध्यापक शिवप्रसाद सापकोटा, शिव राज जोशी र प्रयागराज जोशी लाई सम्मान समेत गरिएको विद्यार्थी समाजका अध्यक्ष चन्दले बताए ।
कैलाली बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख डा. लोकराज बिष्टको प्रमुख आतिथ्यतामा र विद्यार्थी समाजका अध्यक्ष चेतन विक्रम चन्दले सभापतित्वमा कार्यक्रम सम्पन्न भएको दशरथ विद्यार्थी समाजका सदस्य रोहित महताले बताए ।