काठमाडौं/ काठमाडौं उपत्यकासहित देशका विभिन्न भू–भागमा बिहानैदेखि वर्षा भइरहेको छ । देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी, लुम्बिनी, कोसी र वाग्मती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।“आज पनि सोमबार र मंगलबारजस्तै पानी पर्नेछ । भोलिबाट पानी पर्नेक्रम कम हुनेछ,” मौसमविद् गंगा नगरकोटी भन्छिन्, “काठमाडौंमा आज मंगलबार जस्तै पानी पर्ने र केही समय रोकिने क्रम आज दिनभर चलिरहनेछ ।”
विभागले राति देशभर आंशिकदेखि सामान्य बदली रहने बताएको छ । कोसी, मधेस र वाग्मती प्रदेशका केही स्थान र बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।कोसी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
नेपालबाट मनसुन बाहिरिन बाँकी रहेको र भारतको झारखण्ड आसपास क्षेत्रमा रहेको न्यूनचापीय क्षेत्र बनेका कारण नेपालमा केही दिनदेखि लागातार वर्षा भइरहेको मौसमविद् नगरकोटी बताउँछिन् ।वर्षाले नदीको जलसतह हल्का बढ्ने, बाढी, पहिरो, भूक्षयजस्ता प्रकोप हुनसक्ने भएकाले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने विभागले जनाएको छ । त्यसैले सम्भावित क्षतिबाट बच्न सतर्क रहन विभागको आग्रह छ ।