धनगढी, १३ असोज / नेपालमा पहिलोपटक ‘देउडा आइडल’ आयोजना गरिने भएको छ । देउडा सांस्कृतिक मञ्चले पहिलो पटक ‘देउडा आइडल’ आयोजना गर्न लागेको हो ।
मञ्चले शनिबार काठमाण्डौंमा पत्रकार सम्मेलन गर्दै सुदूरपश्चिम र कर्णाली प्रदेशको भाषा र संस्कृतिको प्रवर्द्धन र संरक्षण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिएको छ ।
देउडा गीत, संगीतलाई स्थानीय स्तरबाट राष्ट्रिय हुँदै अन्तर्राष्ट्रिय स्तरसम्म विशिष्ट पहिचान स्थापित हुने खालका कला र गला भएकाहरूलाई कार्यक्रममा सहभागी गराइनेछ ।
कार्यक्रममा लागि सुप्रसिद्ध देउडा सर्जक नन्दकृष्ण जोशी, तिलकसिंह पेला र टीका पुनलाई निर्णायक मण्डलको रूपमा चयन गरिएको छ ।
कार्यक्रमको मिति भने अर्को पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गराइने देउडा सांस्कृतिक मञ्चले जनाएको छ ।