काठमाडौँ, ३ असोज / सरकारले ल्याएको विद्यालय शिक्षासम्बन्धी विधेयकको विरोधमा देशभरका शिक्षकहरु सडक आन्दोलनमा उत्रिएका छन् ।
विधेयकका केही प्रावधानमा असन्तुष्टि जनाउँदै शिक्षकहरु काठमाडौं केन्द्रित आन्दोलनमा होमिएका हुन् । नेपाल शिक्षक महासंघको आह्वानमा देशभरका शिक्षकहरुले माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरिरहेका छन् । माइतीघरबाट सुरु भएको जुलुस बबरमहल, बिजुली बजार हुँदै नयाँ बानेश्वर पुगेको छ । शिक्षकहरुले निषेधित क्षेत्रबाहिर नाराबाजी गर्दै प्रदर्शन गरिरहेका छन्।
ठूलो संख्यामा शिक्षकहरु सहभागी प्रदर्शनका कारण अहिले काठमाडौंको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । विशेष गरी नयाँ बानेश्वर, माइतीघर, त्रिपुरेश्वरलगायतका क्षेत्रको यातायात सेवा प्रभावित भएको छ ।
देशभरका ३० हजार सरकारी विद्यालय बन्द गरेर शिक्षकहरु आन्दोलित बनेका हुन् । जसका कारण ७० लाखभन्दा बढी विद्यार्थीको पठनपाठन प्रभावित भएको छ।