धनगढी, २७ भदौ/एक साताअघि कञ्चनपुरको पुनर्वास नगरपालिकाको कार्यपालिका बैठक थियो । उक्त बैठकमा नगर प्रमुख तोयप्रसाद शर्माले सबै वडाध्यक्षहरुलाई एउटा मौखिक निर्देशन दिए-वडामा १२ बजेपछि म्यूजिक बजाउने, डिजे र मदिरा नियन्त्रण गर्न लाग्नुहोला ।
चाडपर्व नजिकिँदै जाँदा गाउँमा मदिर सेवन, होहल्ला बढ्दै गएको चर्चापछि बैठकमै ११ वटै वडाध्यक्षहरुलाई नगरप्रमुख शर्माको निर्देशन थियो त्यो । प्रमुखले दिएको निर्देशन पालना गर्नु स्थानीय तहका सेवा इकाई अन्तर्गतका वडाअध्यक्षहरुको जिम्मेवारी हुने नै भयो ।सोही निर्देशन पालना गर्ने क्रममा वडा नम्बर ९ का वडाध्यक्ष नरबहादुर विकले त नियम नै आफैं बनाएर पास गरिदिए ।
९ नम्बर वडा कार्यालयको स्थानीय मदिरा नियन्त्रण तथा व्यवस्थापन सम्बन्धी नियम २०८०, निर्माण गरी वडा कार्यालयबाट स्वीकृत पनि भयो । स्वीकृत नियमलाई वडाअध्यक्ष नरबहादुर बिक स्वयंले प्रमाणित गरे । हस्ताक्षर र वडा कार्यालयको छाप लगाएर ‘स्थानीय वडा राजपत्र’ नाम दिएर राजपत्रमा प्रकाशित समेत गरिदिए । उनले राजपत्र मदिरा र डीजे नियन्त्रण तथा व्यवस्थापन घोषणा कार्यक्रम आयोजना गरेरै राजपत्र प्रकाशित गरे ।
अहिले सामाजिक सञ्जालमा पुनर्वास नगरपालिका वडा नम्बर ९ को राजपत्र सार्वजनिक भएसँगै स्थानीय तह अन्तर्गत वडा कार्यालयले राजपत्र प्रकाशित गर्न पाउने नपाउने विषय अन्यौल भइरहेको देखिन्छ ।
