धनगढी, २६ भदौ / सुदूरपश्चिम प्रदेशको तराई जिल्ला कैलाली र कञ्चनपुरमा डेंगु संक्रमण बढ्दै गएपनि स्थानिय तहको सक्रियता देखिएको छैन् ।
तराईका दुई जिल्लाका स्थानिय तहले डेंगु नियन्त्रणमा ध्यान नदिँदा संक्रमण बढ्दै गएको हो । नौ जिल्ला रहेको प्रदेशमा सन २०२३ को हालसम्म तराईका दुई जिल्लामा दैनिक जसो संक्रमण बढ्दै गइरहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
सन २०२३ को जुलाईसम्म कैलालीमा डेंगुका विरामीको संख्या १६ थियो । अगस्टमा एक सय ६९ र सेप्टेम्बरको ११ सम्म ८२ जना थपिएसंगै डेगुका विरामीको संख्या दुई सय ७७ पुगेकोे छ भने कञ्चनपुरमा जुलाइसम्म २३ रहेकोमा अगस्टमा ५८ र सेप्टेम्बरमा १६ गरि एक सय ३१ रहेको छ ।
डेंगु संक्रमणमा बढी हुने दरमा प्रदेशमा पहिलो र देशभरमा दसौं स्थानमा कैलाली रहेको छ । महामारी तथा किटजन्य महाशाखाका अनुसार अहिले सुदूरपश्चिममा डेंगु संक्रमणको दर सात सय ३२ पुगेको छ । प्रदेशअन्र्तगत सबैभन्दा कम कर्णालीमा डेंगु संक्रमण रहेको छ भने कोशीमा बढी रहेको छ ।
देशभर डेंगु संक्रमण २४ हजार आठ सय ४२ रहेकोमा सुदूरपश्चिम प्रदेशमा कुल संक्रमितको प्रतिशत दुई दशमलब नौ रहेको छ । प्रदेशमा डेंगु संक्रमण बढी रहने दोस्रो स्थानमा दाचुला रहेको छ । सो जिल्लामा संक्रमित एक सय ९३ रहेको छ भने तेस्रोमा कञ्चनपुर रहेको छ ।
नौ जिल्ला रहेको प्रदेशका हिमाली जिल्ला बाजुरामा ३२ र बझाङमा १२ जनामा डेंगु संक्रमण रहेको छ । पहाडी चार जिल्ला बैतडीमा ६, डडेल्धुरामा १०, डोटीमा १९ र अछाममा ५२ रहेको छ ।
सन २०२३ को हालसम्ममा डेंगु संक्रमणका कारण दार्चुला, कैलाली र कञ्चनपुरका गरि तीन जनाको मृत्यु भइसकेको भएपनि स्वास्थ्य निर्देशनालयको तथ्यांकमा उल्लेख छैन् । निर्देशनालयले नियमित जारी गर्ने तथ्यांकमा भनिएको छ –‘हालसम्म डेंगु संक्रमणका कारण मृत्यु भएको पुष्टि भएको छैन् ।’
सन २०२२ मा डेंगु संक्रमणका कारण चार जनाको मृत्यु भएको थियो । डेंगु संक्रमण बढ्दै गएपनि स्थानिय तहले ध्यान दिन नसकेको नोभा अस्पतालमा कार्यरत चिकित्सक डाक्टर रामचन्द्र पौडेलले बताए । उनले भने –‘पूर्वाधार निर्माणका कारण सडकहरुमा पानी जम्ने, गमला, टायर लगायतमा जथाभावी फालिएका पानी जम्ने सामाग्रीका कारण डेंगु फैलाउने अण्डकोषहरुको निर्माण भइरहेको छ तर, स्थानिय तहहरुले त्यसमा ध्यान दिएका छैनन् ।’ उनले डेंगु संक्रमण देखिँदा स्थानिय तहहरुले खोज तथा नष्ट अभियान गरेपनि संक्रमण दर बढ्ने समयमा कुनै पनि गतिविधि गरेको नपाइएको बताए ।
स्थानिय तहको सक्रियतालेमात्र तराईमा डेंगु संक्रमण बढ्ने दरमा नियन्त्रण गर्न सकिने उनले बताए । उनले भने –‘डेंगु नियन्त्रणमा तीन तहकै सरकारको सक्रियता आवश्यक छ । विशेषत स्थानिय तह बढी लाग्नुपर्ने देखिन्छ ।’