काठमाडौं, २१ भदौ / नेपालमा ६२ प्रतिशत कृषक परिवार रहेको पाइएको छ । कृषिगणना २०७८ अनुसार नेपालमा ४१ लाख ३० हजार ७८९ कृषि परिवारले २२ लाख १८ हजार ४१० हेक्टर जग्गामा कृषिकार्य गरेको देखिएको छ । अघिल्लो कृषिगणना २०६८ अनुसार ३८ लाख ३१ हजार ९३ कृषक परिवारले २५ लाख २५ हजार ६३९ हेक्टर जग्गामा कृषिकार्य गरेको दिएको थियो ।
कृषिगणना अनुसार नेपालमा जम्मा घरपरिवारमध्ये ६२ प्रतिशत कृषक परिवार रहेको पाइएको छ भने अघिल्लो कृषिगणनाले यस्तो कृषक परिवारको प्रतिशत ७१ देखिएको थियो ।
यो कृषिगणनाले यस्ता कृषक परिवार अन्तर्गत जम्मा कित्ता सङ्ख्या एक करोड १५ लाख ८३ हजार ९५० र प्रति कृषक परिवार कित्ता सङ्ख्या २.८ देखिएको छ । अघिल्लो कृषिगणना २०६८ ले यो सङ्ख्या क्रमशः एक करोड २० लाख ९६ हजार ४१७ र ३.२ रहेको देखाएको थियो ।
यसैगरी कृषिगणनाले कृषक परिवारले १२ लाख नौ हजार २६५.५ हेक्टर जग्गामा सिँचाइ सुविधा लिएको देखिएको छ । यी कृषक परिवार अन्तर्गतको जम्मा जग्गामध्ये ५४.५ प्रतिशत जग्गामा सिँचाइ सुविधा उपयोग भएको देखिन्छ । तर अघिल्लो कृषिगणना २०६८ मा सिँचाइ सुविधा उपयोग भएको जग्गाको क्षेत्रफल ५२ प्रतिशत मात्र थियो । यसरी नै यो गणनाका अनुसरा सिँचाइ सुविधा लिएका कृषक परिवार ७० प्रतिशत हुन आएको देखिन्छ भने अघिल्लो कृषिगणनले यो ६५ प्रतिशत रहेको देखाएको थियो । यरी नै सिँचित क्षेत्रफलमध्ये बाह्रै महिना सिँचाइ सुविधा उपयोग भएको जग्गाको क्षेत्रफल आठ लाख ७९ हजार ५७० हेक्टर (७२.७ प्रतिशत) रहेको यो गणनाले औंल्याएको छ ।