महेन्द्रनगर १३ भाद्र/३ भदौमा कञ्चनपुरको भीमदत्त नगरपालिका–१० जिमुवास्थित शिद्धनाथ माध्यामिक विद्यालयमा भएको घटनालाई लिएर गरिएको कञ्चनपुर जिल्लाव्यापी शिक्षण संस्था बन्दको आन्दोलन फिर्ता लिइएको छ ।
प्रमुख जिल्ला अधिकारी प्रजिअ गोपालप्रसाद अधिकारीले आन्दोलनरत नेपाल शिक्षक महासंघको छलफलपछि विद्यालय बन्दको कार्यक्रम फिर्ता लिने सहमति भएको बताए ।प्रजिअ अधिकारीले महासंघका अधिकांश माग सम्बोधनको क्रममा रहेका र बाँकी रहेकोमध्ये एउटामा पनि सहमति भएको बताए ।
मेयर पदम बोगटीले घटनामा निर्घात कुटिएका विद्यालयका शिक्षक तथा लेखापाल बिरेन्द्रप्रसाद जोशीको उपचारमा भीमदत्त नगरपालिकाले सहयोग गर्ने वचनवद्धता जाहेर गरेपछि सहमति बनेको प्रजिअ अधिकारीको भनाई छ ।विद्यालयको कक्षा १० मा अध्ययनरत एक छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेपछि विद्यालयमा प्रवेश गरेको भीडले लेखापाल जोशीलाई मरणासन्न हुने गरी कुटपिट गरेको थियो ।
जोशीको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको छ ।विद्यालय हाताभित्र पसेर लेखापाल जोशीमाथि निर्घात कुपिट गर्ने समूहका ८ जना र घटनास्थलमा खटिएका प्रहरी अधिकृत इन्स्पेक्टर सिताराम विष्टलाई कार्वाही गर्नुपर्ने माग गर्दै नेपाल शिक्षक महासंघ कञ्चनपुरले सोमबारदेखि जिल्लाव्यापी शिक्षण संस्था बन्दको आव्हान गरेको थियो ।
महासंघले घाइते जोशीको उपचार खर्च सरकारले बेहोर्नुपर्ने तथा घटनाको निष्पक्ष छानविनका लागि उच्चस्तरीय समिति बनाउनुपर्ने माग पनि अगाडि सारेको थियो ।घटनापछि शिद्धनाथ माध्यामिक विद्यालय बन्द छ भने आइतबार भीमदत्त नगरपालिकाभित्रका शिक्षण संस्था बन्द रहेका थिए ।
जिल्ला प्रशासन कार्यालयले सोमबार प्रहरी अधिकृतमाथि छानविन गर्न सहायक सिडिओ धर्मराज जोशी संयोजक रहेको ४ सदस्यीय छानविन समिति गठन गरिसकेको छ । समितिमा जनपद प्रहरी र सशस्त्र प्रहरीका डिएसपीहरु तथा राष्ट्रिय अनुसन्धान विभागका अतिरिक्त अनुसन्धान निर्देशक रहेका छन् ।
प्रहरीले किटानी जाहेरीमा नाम उल्लेख भएका नन्दी नाथ, आशिष टमाटा, करन ओखेडा, दीर्घराज पाण्डेय, मनिष विष्ट, दीपक भण्डारी तथा भिडिओमा देखिएका मनोज नाथलाई पक्राउ गरिसकेको छ । जाहेरीमा परेका करन मल्ल र मनोज तिरुवा फरार छन् । उनीहरुको खोजी भइरहेको प्रजिअ अधिकारीले बताएका छन् ।