काठमाण्डौ १६ साउन/बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा मंगलबार मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य, बदली रही कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ।
राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
महाशाखाका अनुसार देशमा अहिले मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा उत्तरतर्फ र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित छ। महाशाखाले वर्षाका कारण जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाइ यातायातमा हुनसक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न सतर्कता अपनाउन आग्रह गरेको छ।