धनगढी, ३१ असार/कैलालीको मोहन्याल गाउँपालिकाकी एक सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। सुत्केरीपछि स्वास्थ्यमा समस्या देखिएपछि मोहन्याल गाउँपालिका–४ ओखलढुंगाकी ३७ वर्षीया विमला सार्कीको थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट कोहलपुर मेडिकल कलेज लगिएको हो।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई सुचना प्राप्त भए पछि तत्काल उद्धारका लागि नेपाली सेना, जिल्ला प्रशासन कार्यलय कैलाली लगाएका निकायलाई उद्धार र अस्पताल पुगाउन निर्देशन दिएपछि शनिवार हेलिकोप्टरबाट उद्धार गरिएको गाउँपालिका उपाअध्यक्ष कमल साउँदले बताए। उनका अनुसार स्थानीय पण्डौन स्वास्थ्य चौकीमा सार्कीले छोरालाई जन्म दिएकी थिइन्। हेलिकप्टरमार्फत उद्धार गरिएकोमा उनको आइसीयूमा उपचार थालिएको छ।
सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले हेलिकोप्टरको खर्च व्यहोर्ने गरी उद्धार गरिएको बताइएको छ। उनलाई शुक्रवार बेलुकादेखि प्रसुति ब्यथा लागेको थियो। शनिवार बच्चालाई जन्म दिएपछि स्वास्थ्यमा समस्या देखिएपछि विमलालाई हेलिकोप्टरमार्फत उद्धार गरेर कोहलपुर लगिएको बताइएको हो।
कैलालीको पहाडी भूभागमा सडकको पहुँच पुग्न सकेको छैन, सडक पुगेको ठाउँमा पनि वर्षायाम सुरु भएसँगै सडक ठाउँठाउँ भत्किएर नियमित यातायात साधन आवतजावतको समस्या रहेको छ। जिल्लाको दुर्गम भेगका ज्यान जोखिममा परेका जटिल अवस्थाका गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्धार गर्नुपर्ने बाध्यता छ। भौगोलिक विकटता, सडक सञ्जालको विस्तार नहुनु, गाउँमै व्यवस्थित र प्रभावकारी स्वास्थ्य सेवा नहुनु, गाउँसम्म एम्बुलेन्स सेवा नहुनु र समयमै उपचारका लागि अस्पताल लैजान नसक्दा सुत्केरी महिलाहरुले समस्या भोग्दै आइरहेका छन्।
