धनगढी २५ असार/सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि ल्याएको बजेटमाथिको छलफल आजदेखि सुरु हुने भएको छ ।असार १ गते प्रदेश सभामा आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले पेश गरेको बजेटमाथिको छलफल आजदेखि अघि बढ्ने प्रदेश सभा सचिवालयले जनाएको छ ।
सत्तापक्ष र प्रतिपक्षी दलले सरकारले ल्याएको वार्षिक कार्यक्रम ९रातो किताव०प्रति असन्तुष्टि व्यक्त गर्नु, प्रदेश सभा सदस्यहरु प्रदेश बाहिर रहनु र सरकारले तयारी अघि नबढाउँदा बजेटमाथिको छलफल ढिला गरि अघि बढ्न लागेको प्रदेशका सभामुख भीमबहादुर भण्डारीले बताए ।
उनले आजदेखिनै प्रदेश सभा बैठक सञ्चालन गर्ने गरि छलफल भइरहेको बताए । उनले भने –‘आज प्रदेश सभा बैठक बस्छ । अहिले कार्य परामर्श समितिको बैठक बसिरहेको छ । यकिन समय भन्न सकिदैन ।’ प्रदेश सभा विजनेस विहिन रहेकाले कार्य परामर्श समितिले बजेटमाथिको छलफललाईनै प्रमुख एजेण्डा बनाउने सक्ने देखिएको छ ।
प्रदेश सरकारले आज साँझ ४ बजेदेखि प्रदेश सभा बैठक सञ्चालन गर्न सभामुखलाई सुझाव दिएको थियो । तर, सभामुखले कार्य परामर्श समितिको बैठकपछि मात्र समय तय गर्ने तयारी गरेका थिए । सोही अनुसार अहिले बैठक बसिरहेको हो ।