धनगढी ६ जेठ/ सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने दल नागरिक उन्मुक्ति पार्टीले मन्त्रीको नाम सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई नदिदा मन्त्री पाएको छैन । उन्मुक्तीले दुई मन्त्री सहित एक राज्यमन्त्री दाबी गर्दे आएको छ ।
उक्त पार्टीका प्रवक्ता दामोदर पण्डितले आफूहरुलाई २ वटा मन्त्रालय दिने सहमति भएको तर अहिले मुख्यमन्त्रीले एउटा मात्र नाम मागेकाले सरकारमा सहभागी नभएको बताए । यद्यपि आफूहरु छलफलमै रहेको उनले बताए । मुख्यमन्त्री शाहले नागरिक उन्मुक्ति पार्टीका लागि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय खाली राखेका छन् । नागरिक उन्मुक्ति पार्टीले सांसद रामेश्वर चौधरी र लक्ष्मण किशोर चौधरीलाई सुदूरपश्चिम प्रदेश सरकारमा पठाउने निर्णय गरेको थियो ।
यता सत्तारुढ दल नाउपा सरकार बाहिरै रहेको छ । २ मन्त्रालय पाउनुपर्ने अडानमा रहेको नाउपालाई १ मन्त्रालय मात्रै दिने भएपछि बाहिर रहेको हो । नाउपाको नेता तथा सांसद लक्ष्मण किशोर चौधरीले मुख्यमन्त्री शाहले आफूहरूलाई बाइपास गरेर मन्त्री मण्डल विस्तार गरेको दुखेसो सुनाए । उनले भने, ‘हामीलाई जुन सकै सरकारमा बाइपास गरियो ।
अधिकारबाट वञ्चित परेको समुदायको प्रतिनिधि हामीले गर्दै आएका छौँ । अझै हामीलाई अधिकारबाट वञ्चित गरिँदैछ । शीर्ष नेताबीचको सहमति अनुसार हामीले २ मन्त्रालयको अडानमा रहेका हौँ ।’ योसँगै यहाँको मन्त्रीमण्डलले अझै पूर्णता पाउन सकेको छैन । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अझै मुख्यमन्त्री शाहले आफू मातहत राखेका छन् ।