धनगढी, ५ जेठ/सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले डाक्टर हुदैनभएको आरोपमा आरजु राणा प्रति विभिन्न टिकाटिप्णी भइरहेको प्रति आक्रोश व्यक्त गरेका छन् । ‘अहिले डाक्टर आरजुमाथि विभिन्न आरोप लगाइरहेका छन् । सञ्चारमाध्यमबाट स्पष्टिकरण दिँदा समेत उहाँलाई गलत बनाउने प्रयास भइरहेको छ । पार्टीका कार्यकर्ताहरु यस्ता आरोपमा रमाउने कि पार्टीले प्रतिकार गर्ने हो ।’ मुख्यमन्त्री शाले भने । शुक्रबार कैलाली जिल्ला कार्य समितिको आयोजनामा भएको सम्मेलनको उद्घाटन् गर्दै मुख्यमन्त्री शाहले सो कुरा बताएका हुन् । नेपाली काँग्रेस कैलालीको प्रथम जिल्ला सम्मेलन कैलारी गाउँपालिकामा भएको थियो ।
सम्मेलनमा मुख्यमन्त्री शाहले नेपाली काँग्रेसका नेताहरुलाई भ्रष्टाचारी हुन भन्ने जस्ता गलत नजिर स्थापित गर्ने प्रयास भइरहेको बताए । उनले भने –‘पार्टीमाथि विभिन्न किसिमले आक्रमण भइरहेका छन् । नेपाली काँग्रेसका नेताहरू मात्र भ्रष्टाचार गर्छ भन्ने गलत नजिर स्थापित गर्ने प्रयास भइरहेको छ’ उनले भने –‘नेपाली काँग्रेसले प्रष्ट भनेको छ । भ्रष्टाचार गर्ने कसैलाइ पनि स्विकार गर्दैन, संरक्षण पनि गर्दैन ।’ उनले सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक अनियमिततामा कमी ल्याउने गरि काम गरिरहेको बताए । उनले भने –‘प्रदेशमा सुशासन कायम गर्न भ्रष्टाचार निवारणका लागि समिति गठन गरेको छ । त्यसले प्रतिवेदन तयार गरिरहेको छ । छिट्टै सार्वजनिक गर्छाै ।’
भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवा प्रदेशलाई भ्रष्टाचारमुक्त बनाउन विगतका सरकारका अभ्यासहरु हटाउने बताए । उनले भने –‘विगतको प्रदेश सरकारको काम गर्ने शैलीले प्रदेशप्रति जनतामा निराशा छाएको छ । यस्ता अभ्यासको अन्त्य गर्न प्रदेश सरकारले नयाँ सिराहाबाट काम गरिरहेको छ ।’ जिल्ला सभापति नारायणदत्त भट्टको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य प्रकाश बम, संविधान सभा सदस्य बुद्धिसागर चौधरी, गोदावरी नगरपालिका नगर प्रमुख विरेन्द्र भट्ट, क्षेत्रीय सभापति रिता चौधरी लगायतले धारणा व्यक्त गरेका थिए ।