काठमाडौं/टीकापुर घटनामा जिल्ला र उच्च अदालतको फैसलाले थुनामा रहेका रेशम चौधरीको मुद्दाको अन्तिम सुनुवाइ सकिएको छ। सुनुवाइ सकिएसँगै मंगलबार नै फैसला सुनाउने तयारी भइरहेको छ। मंगलबार सरकारी पक्षबाट सहन्यायाधीवक्ता सन्देश श्रेष्ठ बहस गरेपछि चौधरीको तर्फबाट जवाफी बहस भएको थियो। बहस सकिएपछि आजै फैसला सुनाउने तयारी गरिएको हो।
उक्त मुद्दामा वैशाख २५ गतेदेखि अन्तिम सुनुवाइ सुरु भएको थियो। उक्त दिन चौधरी पक्षका कानुन व्यवसायीले बहस गरेका थिए। सोमबारदेखि सरकारी वकिल र प्रतिपक्षका कानुन व्यवसायीहरुले बहस गरेका थिए।
बहसका लागि महान्यायाधिवक्ता कार्यालयले सहन्यायाधिवक्ता सन्देश श्रेष्ठको नेतृत्वमा २ सदस्यीय टोली पठाएको थियो। उनीहरुको बहसपछि निवेदकलाई प्रतिरक्षा बहसका लागि केही समय उपलब्ध गराउँदै सर्वोच्चले फैसला सुनाउने तयारी गरेको हो। सरकारले केही दिनअघि चौधरीलाई माफी दिनकै लागि विधेयक संसद् सचिवालयमा दर्ता गराएको थियो। चौधरीको भविष्य सर्वोच्चले सुनाउने फैसलामै निर्भर हुने देखिन्छ।
नागरिक उन्मुक्ति पार्टी सञ्चालन गर्दै चौधरी सहितका टीकापुर घटनामा संलग्नहरुलाई माफी दिनुपर्ने मागका कारण सरकारले नयाँ विधेयक संसदमा दर्ता गराएको थियो। २०७७ फागुन १२ गते कैलाली जिल्ला अदालत र उच्च अदालतको फैसला त्रुटिपूर्ण भएको भन्दै चौधरीका तर्फबाट पुनरावेदन गरिएको थियो। चौधरी हाल डिल्लीबजार कारागारमा रहेका छन्। उनको संरक्षकत्वमा गठन भएको नागरिक उन्मुक्ति पार्टी हाल सरकारमा छ। चौधरीकी श्रीमती रञ्जिता श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री छन्।