धनगढी । नेपाल ट्रेड युनियन काँग्रेस कैलालीको निर्वाचन कार्यतालिका दुई संगठनको अवरोधका कारण अनिश्चित बनेको छ ।
नेपाल शिक्षक संघ र नेपाल कृषि श्रमिक संघको असहमतिपछि बुधबार तय भएको निर्वाचन कार्यतालिका अघि नबढ्दा अनिश्चितजस्तै बनेको हो ।
युनियनको निर्वाचन कार्यतालिका मंगलबारदेखिनै शुरु भएपनि मतपत्र विवादका कारण स्थगित भएको थियो । मतपत्रमा विवाद भएपछि मंगलबार तय भएको निर्वाचन कार्यतालिका बुधबार १ बजेसम्मका लागि स्थगित भएको थियो ।
युनियनमा काँग्रेस आवद्ध १५ संस्थाहरु रहेका छन् । बुधबार विहान सबै संस्थाका अध्यक्षहरुले १ बजे निर्वाचन कार्यतालिका अघि बढाउने भन्दै सहमतिपत्रमा हष्ताक्षर गरेका थिए । तर, निर्वाचन कार्यततालिकाको मिति अगावै शिक्षक संघ र कृषि श्रमिक संघले मिति सार्नुपर्ने माग गर्दा निर्वाचन अघि बढ्न नसकेको निर्वाचन समितिका सदस्य सिताराम जोशीले बताए ।
उनले भने –‘मंगलबार मतपत्रमा असहमति भएपछि निर्वाचन स्थगित भएको थियो । तर, बुधबार १ बजे निर्वाचन अघि बढाउने भन्दै आवद्ध सबै संस्थाका अध्यक्षहरुले हस्ताक्षर गरेका थिए । अहिले दुई संगठनले निर्वाचन सार्न अनुरोधसहित पत्र पठाएका छन् ।’
नेपाल ट्रेड युनियनका अध्यक्ष ज्ञानेन्द्रबहादुर शाहले निर्वाचन अघि बढाउन आवद्ध संगठनका अध्यक्षहरुसंग छलफल जारी रहेको बताए । उनले भने –‘सहमतिका लागि सबैसंग छलफल भइरहेको छ । मतदान गर्ने वा सहमतिमा अघि बढ्ने भन्ने टुङ्गो लाग्ने छ ।’
नेपाल शिक्षक संघका सचिव हरिश ओझाले शिक्षक संघका प्रतिनिधिहरु आ–आफ्नो क्षेत्रमा गइसकेकाले निर्वाचन सार्न अनुरोध गरिएको बताए । उनले भने –‘मंगलबार मतपत्रमा विवाद भयो । मतदान प्रक्रिया अघि बढ्न सकेन । त्यसपछि संघका सबै पदाधिकारीहरु आफनो काममा व्यस्त भएपछि मिति सार्न अनुरोध गरेका हौं ।’ उनले विदाका दिन ट्रेड युनियनको मतदान प्रक्रिया अघि बढाउनुपर्ने बताए ।
युनियनका अध्यक्षसहित पदाधिकारीका लागि ८१ जनाको मनोनयन दर्ता भएको छ । अध्यक्षमा सुरतबहादुर स्वाँर र जयप्रकाश मिश्र, उपाध्यक्ष महिलामा शान्ति भट्ट र निर्मला चौधरी, कोषाध्यक्षमा खम्मबहादुर शाह र सागर जोशीले मनोनयन दर्ता गराएका छन् । केन्द्रिय प्रतिनिधि, प्रदेश प्रतिनिधि लगायतमा पनि मनोनयन दर्ता भएको छ ।
नेपाल शिक्षक संघ, नेपाल सार्वजनिक सेवा कर्मचारी संघ, नेपाल वित्तिय संस्था कर्मचारी संघ, नेपाल स्वास्यकर्मी संघ, नेपाल प्रेस युनियन लगायतका १५ संगठनको आवद्धतामा ट्रेड युनियन काँग्रेस गठन गरिएको हो ।
युनियनमा दुई सय ४७ मतदाता रहेका छन् । त्यसमध्ये नेपाल शिक्षक संघबाट ६२ जना मतदाता रहेको सचिव ओझाले बताए ।