धनगढी १९ बैशाख/आज पनि देशका अधिकांश स्थानमा चट्याङ्गसहित वर्षा हुने भएको छ। आज दिउँसो सुदूरपश्चिम, कोशी, मधेस र बागमती प्रदेशमा आंशिकदेखि बदली रहने छ। देशका पहाडी भू–भागका केही स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहनुका साथै तराईका थोरै स्थानहरूमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ। आज राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा र देशका बाँकी भू–भागमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले छ।
मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म वर्षा हुने जनाएको छ। यो अवधिमा मेघगर्जन र चट्याङसहितको वर्षाका कारण विभिन्न क्षेत्र प्रभावित हुनसक्ने भन्दै महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ।बुधबार दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। पहाडी भूभागका केही स्थान तथा बाँकी भूभागका १–२ स्थानमा मेघगर्जन, चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ।
बिहीवार दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ। पहाडी भूभागका केही स्थान तथा बाँकी भूभागका १–२ स्थानमा मेघगर्जन, चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।