धनगढी १४ बैशाख/कैलाली र कञ्चनपुरमा मुक्त कमैया र कमलरीको अधिकार यात्रा सुरु भएको छ। नेपाल सरकारले मुक्त घोषणा गरेका उनीहरु सबैको पुनः स्थापना नभएको भन्दै कैलाली र कञ्चनपुरमा मुक्त कमैया र कमलरीले अधिकार यात्रा सुरु गरेका हुन्। जमिनविहीन भएको भन्दै कैलाली कञ्चनपुरका मुक्त कमैया, कमलरीले अधिकार यात्रा थालेका छन्।
बिहीवार कैलाली र कञ्चनपुरमा एकसाथ अधिकार यात्रा ०८० सुरु गरेको छ। मुक्तकमैया समाजको आयोजनामा कैलालीको टीकापुर र कञ्चनपुरको महेन्द्रनगरबाट एकसाथ अधिकार यात्रा सुरु भएको छ।महेन्द्रनगरमा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा पूर्वसुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री प्रकाशबहादुर रावलले यात्राको उद्घाटन गर्दै मुक्त कमैया, हलिया, कमलरीको हक–अधिकार र सामाजिक न्यायका लागि आफ्नोतर्फबाट आवश्यक काम गर्ने बताए।
हाल सुदूरपश्चिम प्रदेश सभाका सदस्यसमेत रहेका पूर्वमन्त्री रावलले प्रदेश सरकारबाट मुक्त कमैया, हलिया र कमलरीको आर्थिक–सामाजिक सुरक्षा, रोजगारीका लागि समेत आवश्यक पहल गर्ने आश्वासन दिए।ठूला–ठूला धनाढ्यले बालबालिकालाई पढाइदिने भन्दै घरमा कामका लागि राखेकाले मालिकको घरबाट मुक्त गराउनुपर्ने माग गरिएको छ। मुक्त कमैया समाजका अनुसार कैलाली–कञ्चनपुरका विभिन्न गाउँबस्तीहरूमा यात्रा गर्दै १८ वैशाखमा प्रदेश राजधानी धनगढीमा बृहत् भेला गरेर समापन गरिने छ।
टीकापुरबाट सुरु भएको साइकल यात्रा जानकी गाउँपालिकाको दुर्गौली चोक, लम्की बजार हुँदै चाहानानगर पुग्ने बताइएको छ। समाजले वैशाख १५ गते बरदागोरिया गाउँपालिकाको नौनिया बस्तीबाट सुरु भएको साइकल यात्रा सुखड, घोतरिन्या, जोशीपुर हुँदैन भजनी पुग्ने छ।१६ गते जिल्लाको भजनीबाट सुरु भएको साइकल यात्रा कैलाली गाउँपालिकाको विपतपुर, हसुलिया हुँदै गौरीगंगा पुग्ने छ। वैशाख १७ गते गौरीगंगा नगरपालिकाको बढैपुरबाट सुरु भएको साइकल यात्रा लठैया, चौमाला हुँदै धनगढी उपमहानगरपालिकाको धुरझन्नासम्म आउने छ। साइकल यात्रासँग प्रत्येक ठाउँमा कोण सभाको समेत आयोजना गरिने छ।
कोण सभामा नगर प्रमुख वा उपप्रमुख, गाउँपालिकाका अध्यक्ष वा उपाध्यक्षहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। उता कञ्चनपुरको भीमदत्त नगरपालिकाको सालघारी बस्तीबाट वैशाख १४ गते बिहीवार साइकल यात्रा सुरु हुने छ। सालघारीमा प्रदेश सभा सदस्यले साइकल यात्राको सुरुवात गर्ने कार्यक्रम तय भएको समाजले बताएको छ।
कञ्चनपुरको सालघारी बस्तीबाट सुरु भएको साइकल यात्रा वेदकोट नगरपालिकाको ओझाखाली, बिचफाँटा, धर्मपुर, नयाँ मुक्ती हुँदै छेला गाउँ पुग्ने छ। वैशाख १५ गते बेलडाँडी, बेलौरी, रामघाट, लालझाडी, खैरगढैया, चान्देव, बेलौरी हुँदै शोभातालसम्म पुग्ने छ। वैशाख १६ गते लालझाडी, जाईजाला, शुक्लाफाँटा, आभ्राजाला, मरघटैया, वैशाखा, झलारी मुक्ती, नौखरी, कृष्णपुर हुँदै कंकचनाहरासम्म आउने छ।
वैशाख १७ गते कृष्णपुर, वांणी, बेलकुण्डी, दयामतपुर, किचाही, वस्तपुर, गर्जाला, गोदावरी हुँदै जित्तलपुरसम्म पुग्ने छ। मुक्त कमैया बस्तीहरुबाट साइकल यात्रा हुने भएको हो। उनीहरुले मुक्त कमैया र कमलरीको पुनः स्थापना, मुक्त कमैया र कमलरीका नीति तथा कार्यक्रममा परिमार्जन र जीविकोपार्जनको सुशिश्चितताको माग गर्दै संघर्षका कार्यक्रम गर्ने बताइएको छ।
