दार्चुला,१३ बैशाख/दार्चुलामा बँदेलको आक्रमणबाट पाँच जना घाइते भएका छन् । दार्चुलाको मालिकार्जुन गाउँपालिका–६ उकुमा बँदेलको आक्रमणबाट पाँच जना घाइते भएका हुन् । सुरक्षाकर्मीहरु परेड खेलिरहेको अवस्थामा बँदेलले एक्कासी आक्रमण गर्दा स्थानीय र सुरक्षाकर्मीहरु घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहका अनुसार मंगलबार बिहान सशस्त्र प्रहरीका हवल्दार र जवानहरु परेड गरिरहेका बेला बँदेलले आक्रमण गरेको थियो । सुरक्षाकर्मीहरू नजिकै रहेका अन्य तीन जना स्थानीयलाई समेत बँदेलले आक्रमण गरी घाइते बनाएको प्रहरीले बताएको छ ।
सिंहका अनुसार बँदेलको आक्रमणबाट सशस्त्र प्रहरीका हवल्दार गोपाल साउद, सशस्त्र प्रहरीका जवान हरिस बुडाल, ६५ वर्षीय स्थानीय जसोद सिंह महरा, २१ वर्षीय आयुष पाल र ५० वर्षीय रतन पार्की घाइते भएका छन् । घाइतेमध्ये रतन पार्कीलाई थप उपचारका लागि धनगढी ल्याएको छ । अन्य घाइतेको स्वास्थ्य अवस्था समान्य रहेको प्रहरीले जनाएको छ । आक्रमण गर्ने बँदेलबाट प्रतिरक्षा गर्ने क्रममा स्थानीय र डिभिजन वन कार्यालय दार्चुलाका कर्मचारीहरुले बँदेललाई मारेको प्रहरीले जनाएको छ ।