डडेल्धुरा, १८ चैत्र/ डडेल्धुरा जिल्लाको आलिताल गाउँपालिकाले एसईईमा सहभागी परीक्षार्थीलाई निःशुल्क खाना उपलब्ध गराएको हो। पालिकाको दुर्गम तथा पालिका सदरमुकामबाट टाढा रहेका वडा नम्बर १ को भुवनेश्वरी मावि र २ को उणिकोट माविका परीक्षार्थीलाई निःशुल्क खानाको व्यवस्था गरिएको हो। परीक्षामा गाउँपालिकाका तीन सय १६ विद्यार्थी सहभागी छन्।
आलिताल गाउँपालिकामा दुईवटा परिक्षा केन्द्र रहेका छन्। डडेल्धुराका १२ वटा केन्द्रमा माध्यमिक शिक्षा परीक्षा ९एसईई० सुरु भएको छ। परीक्षामा दुई हजार ६८९ विद्यार्थी सहभागी रहेको शिक्षा विकास तथा समन्वय एकाइ डडेल्धुराका प्रमुख नारद जोशीले बताए।
सुदूरपश्चिमका नौ जिल्लामध्ये डडेल्धुराबाट सबैभन्दा कम विद्यार्थी परीक्षामा सहभागी छन्। शिक्षा विकास निर्देशनालय दिपायल डोटीको तथ्याङ्कअनुसार एसईईमा ५५ हजार तीन सय ७६ विद्यार्थी सहभागी भएका छन्।
