धनगढी, १६ मंसिर/धनगढीमा ग्रेडरले किचेर विद्यार्थीको मृत्यु भएपछि आन्दोलित भएका २१ विद्यार्थीलाई प्रहरीले नियन्त्रण लिएको छ । स्थिति नियन्त्रण गर्न प्रहरीले ३७ सेल अश्रुग्यास ग्यास समेत प्रहार गरेको छ । निषेधाज्ञाबिचमै अहिले पनि धनगढीका विभिन्न स्थानमा प्रहरी प्रशासनविरुद्ध विद्यार्थीहरू नाराबाजीमा उत्रिएका छन् । प्रदर्शनमा उत्रिएपछि अहिले पनि धनगढीको स्थिति तनावग्रस्त बनेको छ ।
धनगढीको पञ्चोदय माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययनरत चेतना साउँदको ग्रेडरले किचेर मृत्यु भएपछि विद्यार्थीहरु आन्दोलित भएका छन् । उनीहरु हिजोदेखि नै आन्दोलनमा उत्रिएका हुन् । जिल्ला प्रशासन कार्यालयले हिजो रातिदेखि लगाएको निषेधाज्ञा तोडेर उनीहरु प्रदर्शनमा उत्रिएपछि स्थिति तनावग्रस्त बनेको छ ।
हसनपुर पिपलचौतारा नजिक पानी पिच गरिरहेको ना १ क ९७५ नम्बरको कालिका कन्स्ट्रक्सनको ग्रेडरले लेबल मिलाउँदै ब्याक गर्ने क्रममा कुल्चिएर मृत्यु भएको थियो । ग्रेडर र चालक जिल्ला चितवन भरतपुर महानगरपालिका २८ बस्ने वर्ष २७ को विमल कुमाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीका केही स्थानमा निषेधाज्ञा समेत गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले पीडित पक्षसँग बसेर एक चरणको वार्ता समेत भएको बताए ।
पीडित पक्षहरूले दोषीलाई कडा भन्दा कडा कारबाही गर्नुपर्ने माग राख्दै जाहेरी लिन गएको उनले बताए । पीडित पक्षले जाहेरी लिएर आएपछि मात्रै थप प्रक्रिया अगाडि बढने उनको भनाइ छ ।घटनाले उग्र रूप लिएपछि बिहीबार साँझ ७ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि जिल्ला प्रशासन कार्यालय कैलालीले निषेधाज्ञा जारी गरेको छ । प्रहरीले आन्दोलन रोक्न आग्रह गरिरहेको छ ।
ञयस्तै कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले कारवाहीको दायरामा ल्याउन प्रशासन प्रतिबद्ध रहेको बताउँदै स्थिति सामान्य बनाउन पीडित पक्षसँग संवाद भएको समेत बताएका छन् । उनले यसमा छलफल भइरहेको हुँदा सबैलाई सहयोग गरिदिन हुन् आग्रह समेत गरे । उनले विद्यार्थी तथा अभिभावकसँग पनि छलफल भइरहेको बताएका छन् ।