कैलाली । मङ्सिर ४ मा सम्पन्न निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा प्रतिनिधि सभा सदस्यका १५ र प्रदेश सभाका ३० निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फको अन्तिम नतिजा आइसकेको छ ।प्रदेशमा प्रतिनिधि सभाका १६ र प्रदेश सभाका ३२ निर्वाचन क्षेत्रमध्ये बाजुरा जिल्लाको नतिजा आउन बाँकी छ । मतदानको दिन उत्पन्न असहज परिस्थितिका कारण रोकिएको बाजुराको एक केन्द्रमा आज९९शनिबार० मतदान भइरहेको छ ।
सुदूरपश्चिमको डडेलधुराबाट प्रतिनिधित्व गर्नुहुने प्रधानमन्त्री शेरबहादुर देउवासहित नेपाल सरकारका दुई मन्त्री प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ ।प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति देउवाका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकाल रहनुभयो । वि।सं २०४८ यता भएका निर्वाचनमा देउवा विजयी हुँदै आउनुभएको छ ।
दार्चुलाबाट प्रतिनिधित्व गर्नुहुने उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री एवं कांग्रेस नेता दिलेन्द्रप्रसाद बडू विजयी हुनुभयो । उहाँले एमालेका नेता गणेशसिंह ठगुन्नालाई पराजित गर्नुभयो । बडू यसअघि वि।सं २०७४ मा भएको निर्वाचनमा कांग्रेसको समानुपातिक सूचीबाट प्रतिनिधि सभा सदस्य निर्वाचित हुनुभएको थियो ।यसैगरी, श्रम तथा रोजगारमन्त्री एवम् नेकपा ९एकीकृत समाजवादी० का नेता शेरबहादुर कुँवर अछाम–१ बाट निर्वाचित हुनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी एमालेका झपटबहादुर बोहरा रहनुभयो । नेकपा एमाले र तत्कालीन नेकपामा आएको विभाजनसँगै उहाँ नेकपा ९एकीकृत समाजवादी० मा प्रवेश गर्नुभएको थियो ।
नेपाली कांग्रेसबाट डडेलधुरामा प्रधानमन्त्री देउवा, कञ्चनपुर ३ बाट रमेश लेखक, कञ्चनपुर २ बाट एनपी साउद, कैलाली ४ बाट वीरबहादुर बलायर, कैलाली ५ बाट डिल्लीराज पन्त, दार्चुलाबाट उद्योगमन्त्रीसमेत रहेका बडू र अछाम २ बाट पुष्पबहादुर शाहसहित सात जना प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ । यस्तै, नेकपा एकीकृत समाजवादीबाट अछाम १ मा श्रममन्त्रीसमेत रहनुभएका कुँवर, बझाङमा भानुभक्त जोशी र डोटीबाट प्रेमबहादुर आलेमगर निर्वाचित हुनुभएको छ । नागरिक उन्मुक्ति पार्टीबाट कैलाली १ मा रञ्जिता श्रेष्ठ चौधरी, क्षेत्र २ मा अरुण चौधरी र क्षेत्र ३ मा गङ्गाराम चौधरी प्रतिनिधि सभामा निर्वाचित हुनुभयो । टीकापुरको हिंसात्मक घटनामा अदालतबाट दोषी ठहर रेशमलाल चौधरीकी पत्नी रञ्जिता नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय अध्यक्ष हुनुहुन्छ ।
नेकपा माओवादी केन्द्र बाट उम्मेदवार रहनुभएका बैतडीका नरेन्द्र कुँवर विजयसुन्दर कञ्चनपुर १ का बीना मगर, कैलाली २ का भगत बडुवाल र ३ का कृष्णकुमार चौधरी प्रतिनिधिसभा सदस्यमा पराजय व्यहोर्नुभएको छ । प्रतिनिधि सभा सदस्यमा सुदूरपश्चिमबाट नेकपा माओवादी केन्द्र शून्य भएको छ । नेकपा एमालेका प्रदेश अध्यक्ष दामोदर भण्डारी बैतडीबाट र तारालामा तामाङ कञ्चनपुर १ बाट प्रतिनिधि सभामा निर्वाचित हुनुभयो । तामाङ पार्टी विभाजनका बेला एमालेबाट नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेर निर्वाचनअघि पुनः एमालेमै फर्किनुभएको थियो ।
एमालेका सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट कैलाली ४ मा कांग्रेस नेता वीरबहादुर बलायरसँग पराजित हुनुभयो । प्रदेश सरकारका बहालवाला दुई मन्त्रीले पराजय हुँदा दुई मन्त्री भने विजयी हुनुभएको छ ।प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री एवम् प्रदेश सभामा नेपाली कांग्रेस संसदीय दलका नेता डा। रणबहादुर रावल कैलाली क्षेत्र १ को प्रदेश सभा २ बाट पराजित हुनुभएको छ । उहाँ नागरिक उन्मुक्ति पार्टीका प्रत्याशीसँग पराजित हुनुभएको हो । डा। रावल पाँच वर्ष अघि प्रत्यक्षतर्फको निर्वाचनमा सोही क्षेत्रबाट विजयी हुनुभएको थियो ।
प्रदेशका सामाजिक विकासमन्त्री एवम् कांग्रेस नेता गोविन्दराज बोहरा डडेलधुरा २ को प्रदेशसभा सदस्यमा पराजित हुनुभएको छ । उहाँ स्वतन्त्र उम्मेदवार डा। तारा जोशीसँग पराजित हुनुभयो । बोहरा पाँच वर्षअघिको निर्वाचनमा कांग्रेसको समानुपातिक सूचीबाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री एवम् नेकपा माओवादी केन्द्र का नेता मानबहादुर धामी दार्चुलाको प्रदेशसभा सदस्यमा दोस्रो पटक निर्वाचित हुनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी एमालेका हरदेव जोशी रहनुभएको छ ।
प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका नेता दीर्घबहादुर सोडारी कैलाली ४ बाट र सोही पार्टीका नेता एवम् आर्थिक मामिलामन्त्री प्रकाश रावल कञ्चनपुर ३ बाट प्रदेशसभामा निर्वाचित हुनुभयो । दोस्रो पटक प्रदेशसभामा निर्वाचित सोडारी र रावलले क्रमशः एमालेका भीमबहादुर देउवा र माओवादी केन्द्रका टेकेन्द्रप्रसाद भट्टलाई पराजित गर्नुभयो ।
प्रदेशसभाका निवर्तमान सदस्य, नेकपा एकीकृत समाजवादीका नेता अमरबहादुर साउद कैलालीबाट र लालबहादुर खड्का कञ्चनपुरबाट प्रदेशसभा सदस्यमा पराजित हुनुभएको छ । नेकपा माओवादी केन्द्रका नेता अक्कलबहादुर रावल अछामको प्रदेशसभाबाट दोस्रो पटक निर्वाचित हुँदा सोही पार्टीका नन्दबहादुर साउद भने कैलालीको प्रदेशसभा सदस्यमा पराजित हुनु भयो । प्रदेशसभाका निवर्तमान सदस्य एवं एमालेका नेताद्वय पठानसिंह बोहरा डडेलधुरा र लीलाधर भट्ट बैतडीको प्रदेशसभा सदस्यबाट पराजित हुनुभयो ।
निर्वाचनअघि एमालेबाट नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेर प्रदेशसभा सदस्यको टिकट पाउनुभएका प्रदेशसभाका निवर्तमान सदस्य रतनबहादुर थापा कैलालीबाट पराजित हुनुभयो । यस्तै प्रदेशसभाका निवर्तमान सदस्य तराई–मधेस लोकतान्त्रिक पार्टीका कृष्णबहादुर चौधरी कैलाली १ को प्रदेशसभा सदस्यमा पराजित हुनुभयो ।
सुदूरपश्चिम प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसबाट कैलालीका प्रकाशबहादुर देउवा, प्रकाश बम र कमलबहादुर शाह, कञ्चनपुरबाट दिवानसिंह विष्ट, बहादुरसिंह थापा र बेलबहादुर रानामगर, अछामबाट मेघराज खड्का र मानबहादुर रावल, बझाङबाट पृथ्वीबहादुर सिंह, बैतडीबाट शिवराज भट्ट, दार्चुलाबाट विक्रमसिंह धामीसहित ११ जना निर्वाचित हुनुभएको छ ।
यस्तै प्रदेशसभा सदस्यमा निर्वाचित हुनेमा नेकपा माओवादी केन्द्रबाट रमेश धामी, कैलाली, खगराज भट्ट, डडेलधुरा, शिवसिंह ओली, डोटी, ओमविक्रम भाट, कञ्चनपुर, भीम भण्डारी बझाङ, मानबहादुर धामी, दार्चुला र अछामबाट अक्कलबहादुर रावल र झपटबहादुर साउदसहित आठ जना हुनुहुन्छ । नागरिक उन्मुक्ति पार्टीबाट प्रदेशसभा सदस्यमा कैलालीबाट रामेश्वर चौधरी, कैलाश चौधरी, लक्ष्मणकिशोर चौधरी, घनश्याम चौधरी र खुसीराम चौधरीसहित पाँच जना र नेकपा एकीकृत समाजवादीका दीर्घबहादुर सोडारी, प्रकाश रावलसहित दुई जना निर्वाचित हुनुभएको छ ।
यस्तै नेकपा एमालेबाट प्रदेशसभामा निर्वाचित हुने तीन जनामा वीरबहादुर थापा कञ्चनपुर र सुरेन्द्र पाल बैतडी र चक्र मल्ल डोटी हुनुहुन्छ । डडेलधुराबाट स्वतन्त्र उम्मेदवार डा तारा जोशी पनि प्रदेशसभामा विजयी हुनुभएको छ । प्रदेशसभामा ५३ सदस्य रहेका छन् । प्रत्यक्षतर्फको बाजुराको दुई नतिजा र समानुपातिकको २१ सदस्यको नतिजा आउन बाँकी छ ।